
त्रिभुवन पुस्तकालय सञ्चालनमा होस्टेमा हैँसे गरौँ
हामीले केही भाष्यहरुलाई गलत सावित गरिसकेका छौँ । ‘नेपाल कृषिप्रधान देश’, ‘वीर गोरखाली’, ‘हरियो वन, नेपालको धन’, ‘नेपाल जलस्रोतको दोस्रो धनी देश’, ‘नेपाल ः सुन्दर, शान्त, विशाल’ … इत्यादि ।
हामी गोरखालीहरु सावाँमा भन्दा व्याजमा बढि गर्व गर्छौँ । हामी गोरखाली वर्तमानमा वीर छैनौँ, पुर्खाले आर्जेको वीरतामा मात्र गर्व गर्छौँ । रचनात्मक, सिर्जनात्मक काममा हामी अगाडि छैनौँ, तर इतिहासमा यस्तो थियौँ भनेर पुर्खाको नाम बेच्न मात्र माहिर छौँ ।
रानीपोखरी परिसरमा पुर्खाहरुले एउटै ढुंगाको स्तम्भ ठड्याएर पृथ्वीपति शाहको सालिक निर्माण गरे । कलात्मक गणेश, विष्णु र शिवको मन्दिर निर्माण गरे । विभिन्न तीर्थको जल मिसाएर पुष्कर तीर्थ बनाए । तर हामीले अहिले त्यसको संरक्षण मात्र पनि गर्न सकेका छैनौँ । महादेव मन्दिर परिसरभित्र छिर्ने हो भने त्यहाँको फोहरले कसको मन नदुख्ला र ?
आजभन्दा ७२ बर्षअघिका सचेत गोरखालीले गोरखा सदरमुकाममा त्रिभुवन पुस्तकालय स्थापना गरे । शिक्षा नै विकासको सर्वोत्तम माध्यम हो भन्ने बुझेकाहरुले यस क्षेत्रमा शिक्षाको विकास गर्न पुस्तकालय स्थापना गरेका थिए । हामी त्यही गोरखाली हौँ, जसले त्यसको गरिमालाई पूर्ववत कायम गर्न सकेनौँ ।
पुर्खाले नयाँ–नयाँ र महान काम गर्ने बेला अहिलेको तुलनामा सेवा, सुविधाको धेरै अभाव र कम अवसर थियो । स्रोत, साधन, पूर्वाधारहरु कम थिए । त्यसको तुलनामा अहिले स्रोत साधन पर्याप्त छ । मान्छे धेरै सचेत, विकसित छन् । जान्ने बुझ्ने धेरै छन् । केन्द्र, प्रदेश सरकारमा पहुँच धेरै छ ।
त्रिभुवन पुस्तकालयको कुरा गर्नुपर्दा दशकौँ बन्द रहेको पुस्तकालय भवन २०७२ सालको भूकम्पले भत्कियो । पुस्तकहरु अधिकांश चोरी र नष्ट भए । सरकारले क्षतिग्रस्त गुम्बा, मठ, मन्दिरको पुनर्निर्माण गर्ने जिम्मेवारी सम्हाल्यो । तर यो पुस्तकालय पुनर्निर्माणलाई प्राथमिकतामा राखेन ।
केही स्थानीय सचेतवर्गले आफ्नो ठाउँको पुस्तकालय आफैले बनाउनु पर्छ भनेर पहल सुरु गरे । पुस्तकालय भवन निर्माण पनि गरे । पुस्तकालय सञ्चालनका लागि कोशिष पनि गरिरहेका छन् । तर होस्टेमा हैँसे पुगेको छैन । त्यसैले यसलाई सञ्चालन गर्न सबैले होस्टेमा हैँसे गर्नु आवश्यक छ ।




