
फण्डबोर्डका पूर्वअध्यक्ष भूमिनन्द देवकोटा बलात्कार आरोपमा पक्राउ
अजीरकोट गाउँपालिका ५ मुच्चोक घर भई काठमाडौँ बस्दै आएका भूमिनन्द देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा एकसाताअघि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हिसिला यमी भौतिक पूर्वाधार मन्त्री हुँदा मन्त्रीको स्वकीय सचिव थिए भने पछि लगानीबोर्डका अध्यक्ष भएका थिए ।
प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । काठमाडौं–३२, पेप्सिकोलास्थित देवकोटाको घरमा पहिलेदेखि नै बस्दै आएकी १७ वर्षकी किशोरीले प्रहरीमा देवकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा भनिएको छ । पछिल्लो पटक २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ ।
सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ ।
प्रहरी वृत्त, बानेश्वरका डीएसपी शिवराज बुढाथोकीका अनुसार, देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी प्रहरी कहाँ छ । प्रहरीका अनुसार, नेपाली पीडितका प्रेमी हुन् ।
जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
पीडितलाई स्वास्थ्य जाँचपछि संरक्षण गृहमा राखिएको छ




