| सोमवार, कार्तिक २३, २०८३

गृहमन्त्रीको गाउँ जाने बाटो पनि अलपत्र ?

गतबर्षको प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट गठबन्धनबाट उम्मेद्वार बनेका पुष्पकमल दाहाल प्रचण्डले आफुले चुनाव जितेपछि यहाँको ग्रामीण सडकहरु धुलोमुक्त बनाउने घोषणा गरेका थिए । उनले चितवनमा पनि यही नाराका साथ चुनाव लडे, जिते र धुलोमुक्त बनाएका थिए । त्यसैलाई आधार बनाएर गोरखाका धुले सडकहरु पनि धुलोमुक्त हुनेमा विश्वस्त हुने ठाउँ थियो ।

उनले जिते र प्रधानमन्त्री बने पनि, तर अहिलेसम्म सो घोषणाले मूर्त रुप लिने संकेत देखिएको छैन ।
गोरखा २ मा सहस्र धुले सडक छन् । सबै धुले सडक कालोपत्रे हुनेछन् भन्न त उनले पनि खोजेको होइनन्, आशा गर्नेले पनि त्यति धेरै आशा गर्नु मनासिब हुन्न तर प्रमुख सडकहरु पनि धुलोमुक्त हुने अबस्थामा देखिएका छैनन् । उनी स्वयंले सिलान्यास गरेको कटहरे, हर्मी हुदै बिचौर जोड्ने सडक कालोपत्रे गर्ने कार्यले पनि खासै गति लिएको छैन ।

गोपालडाँडाबाट जौबारी जाने सडक ११ करोड ४६ लाख रुपैयाँ लागतमा स्तरोन्नति(कालोपत्रे) गर्न २०७४ साल असार १४ गते गोरखा एप्रोप्रियट र कन्काइ कन्स्ट्रक्शन जेभी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता गरेको ६ बर्ष बितिसक्यो । पाँच पटक म्याद थप भइसक्यो, तर काम अझै सम्पन्न भएको छैन ।

फिनामटार जौबारी भच्चेक सडक नाम दिइएको सो योजनाको काम अहिलेसम्म करिब ९६ प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी रहेको थोरै काम पनि अलपत्र छ ।

गृहमन्त्रीको गाउँ जोड्ने सडकको त्यो अबस्था देख्दा अरु गाउँको सडकको हविगत के होला ? आशा गर्ने ठाउँ छैन । यसै नेपाल आर्थिक रुपमा धरासायी बन्दै गएको छ । अलिअलि भएको बजेटको पनि कार्यक्रम हुन यत्तिका सकस हुने गर्छ ।
यसप्रति सम्बन्धित कार्यालयहरुले अलिक कडाइका साथ लाग्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्