
पर्यटन विकासमा गफभन्दा धेरै काम गरौँ
आन्तरिक पर्यटक धेरै भ्रमण गर्न आउने जिल्लामध्य पर्छ, गोरखा जिल्ला । गोरखा जिल्लाको पनि विशेषगरी गोरखा बजार । नेपालको मध्यकालीन इतिहासको उठान गोरखाबाट सुरु भएको मानिन्छ । द्रव्यशाह, रामशाह, पृथ्वीनारायण शाह, बहादुर शाह, भीमसेनथापा, अमरसिँह थापा, कालुपाण्डे, बिसे नगर्ची, लखन थापा आदिको इतिहास पाठ्यपुस्तकमा पनि रहेकाले देशभरका विद्यार्थीहरु कुनै न कुनै समय गोरखाको भ्रमण गर्न आउने गर्छन् ।
विश्व परिवेशमा नेपालीको पर्यायको रुपमा गोर्खा प्रयोग हुन्छ । त्यसैले पनि आम नेपालीलाई गोरखाप्रति आकर्षण छ ।
शैक्षिक भ्रमणको याममा गोरखा आउने विद्यार्थीहरुको घुइँचो उत्साहजनक हुने गर्छ । गोरखनाथ, गोरखकालीको महिमा उत्तिकै छ । त्यसैले गोरखा आउन उत्साहित हुने गर्छन् । तर उनीहरु आउँदा जत्तिको उत्साहित हुन्छन्, फर्कदा त्यति हुदैनन् । किनभने यहाँको पूर्वाधार विकास निराशालाग्दो छ ।
बाग्लुङकालीकामा बाग्लुङले जत्ति पूर्वाधार निर्माण गरेको छ, गोरखकालीकामा गोरखाले त्यति गरेको छैन । नेपालको हरेक सिक्का र नगदमा गोरखनाथ लेखिएको हुन्छ । नेपालमा गोरखनाथको महत्व कति धेरै छ भन्ने यसले पनि पुष्टि गर्छ । तर गोरखनाथ दर्शन गरेर फर्कँदा धार्मिक पर्यटक उतिसारो उत्साहित हुदैनन् । कारण त्यहाँको दर्शन तथा पूजामा हुने अव्यवस्थाले गर्दा हो ।
पर्वतले कुस्मामा जसरी एड्भेञ्चर पर्यटनको विकास गरेको छ, गोरखाले के गरेको छ त्यस्तो ? मकवानपुरले सहिद स्मारकलाई पर्यटकीय स्थल बनाउन जति लगानी गरेको छ, जति व्यवस्थित बनाएको छ, गोरखामा पर्यटन विकास गर्न कुन निकायले के गरेको छ ?
यसरी जिल्ला–जिल्लाको नाम लिएर तुलना गर्दै जाने हो भने धेरै उदाहरण देखिन्छन् । तर सारमा गोरखाले इतिहास मात्र भजाएर अब पुग्दैन । यहाँको पर्यटन विकास गर्न गफ होइन, भाषण होइन, पूर्वाधार निर्माण गर्नु जरुरी छ । गफ भन्दा काम धेरै गर्नुपर्छ ।




