
रुग्ण आयोजना ताकेता कर्मकाण्डी मात्र हुने हो कि ?
केही समयअघि चीन भ्रमण गरेर फर्केका एकजनाले भन्थे, ‘चीनको ग्रामीण क्षेत्रको भ्रमण गर्ने अवसर मिल्यो । एकसाता अघि हिँडेको गएको त्यही बाटो एकसातापछि फर्कँदा त अनेक संरचना बनेर त्यही ठाउँ पनि चिन्नै नसक्ने भइसक्दो रहेछ ।’ यहाँ दशौँ बर्षसम्म पुल बन्न सक्दैन, त्यहाँ पक्की पुल एकसातामा बनिसक्ने कहानी उनले सुनाएका थिए ।
गोरखामा बुटार पुल, अजुवाखोला पुल, बडहरे खोला पुलजस्ता दश बर्षदेखि क्रोनिक बनेका पुल, गोपालडाँडा जौबारी सडक, सातदोबाटे पालुङ्टार सडक, ओख्ले घ्याम्पेशाल मसेल निवेल सडक, सौरपानी, पोखरी, बारपाक सडकजस्ता समस्याग्रस्त सडक कैयौँ छन् । भवनका, सिँचाइका, खानेपानीका पनि रुग्ण बनिसकेका योजनाहरु प्रसस्त छन् ।
अनेकानेक प्रपञ्च गरी ठेक्का हात पार्ने, मोबिलाइजेशन लिने, अन्यत्र लगानी गर्ने र विकास निर्माणको काम अलपत्र पार्ने ठेकेदारका कारण गोरखाको विकास पछाडि परेको हो । सिंगै मुलुकको विकास कछुवागतिमा हुनुको प्रमुख कारणमध्य ठेकेदारको बदमासी पनि एक बन्न पुगेको छ ।
जिम्मा लिएको काम निर्धारित गुणस्तरमा, निर्धारित समयसीभित्र सम्पन्न गर्ने ठेकेदारहरु पनि नभएका होइनन् । बरु उनीहरुले निर्धारित समयभन्दा अगावै सम्पन्न गरेर पुरस्कार दावी गर्ने अबस्थामा पनि कतिपय छन् । तर सम्पन्न गरेजतिको बिल फरफारक गरी भुक्तानीसमेत पाउन नसकेका कतिपय ठेकेदार छन् ।
काम अलपत्र पार्ने अल्छी ठेकेदारका कारण त्यस्ता काम गर्ने, सच्चा ठेकेदारहरुको समेत बद्नाम हुने गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा सोमबार सम्पन्न एक कार्यक्रमले रुग्ण बनेका आयोजना, योजनाहरुलाई पुन सञ्चालन गरी सम्पन्न गर्नेतर्फ जोड दिइएको थियो । यस खालका कार्यक्रम यसअघि पनि नभएका होइनन् । तर कार्यान्वयन पक्ष फितलो भएका थिए । यसपटकको कार्यक्रम फलदायी बनोस् । रुग्ण बनेर बसेका आयोजनाहरुको काम फत्ते होओस् ।




