
अजिरकोटमा भएको विशेषज्ञ स्वास्थ्य शिविरबाट ७ सय भन्दा बढी लाभान्वित
अजिरकोट गाउँपालिकाले संचालन गरेको विशेषज्ञ स्वास्थ्य शिविरबाट सातसय भन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिका भित्रका पाँचवटै वडामा संचालन भएको शिविरमा सातसय १८ जनाले सेवा लिएको पालिकाका जनस्वास्थ्य अधिकृत सुरेश दवाडीले बताए । शिविरमा २५२ जनाको क्षयरोग सम्बन्धी खकार जाँच, ८६ जनाको भिआइए (पाठेघरको मुख्यको क्यान्सर भए नभएको) जाँच र ५ सय १५ जनाको सुगर जाँच गरिएको उनले जानकारी दिए ।
त्यस्तै २८० जनालाई भिडियो एक्स–रे सेवा प्रदान गरिएको उनको भनाइ छ । प्रत्येक वडामा एक÷एक दिन गरी १५ गतेबाट सुरु भएको स्वास्थ्य शिविर १९ गते भच्चेक आधारभुत अस्पतालमा पुगेर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा ५० प्रतिशत भन्दा बढी सेवाग्राही महिला रहेको जनस्वास्थ्य अधिकृत दवाडीले बताए । पाँच दिनसम्म संचालन भएको शिविरले बिशेषज्ञ सेवा लिनका लागि अन्यत्र धाउनुपर्ने बाध्यता भएका स्थानीयलाई निकै सहज भएको उनको भनाइ छ ।
शिविरमा जिल्लाभित्र र बाहिरका विभिन्न अस्पतालमा कार्यारत डाक्टरहरुले स्वास्थ्य सेवा दिएका थिए । चिकित्सकको टिममा दुईजना मेडिकल अफिसर, दुई जना हाडजोर्नी बिशेषज्ञ, एक जना एमडिजिपी सहभागी थिए । आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
उक्त कार्यक्रमका लागि चालु आर्थिकवर्ष पालिकाले पाँच लाख रकम विनियोजन गरेको थियो । शिविरको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिपक देवकोटाले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने बताए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थी, वडा नम्वर ३ का अध्यक्ष बाबुराम अधिकारी, स्वास्थ्य निरीक्षक ठाकुरप्रसाद भट्ट लगायतको उपस्थिती रहेको थियो ।




