
पाङसिङको मुहार फेरिनु सह्राननीय
१५ बर्षअघिसम्म सिर्दिबास पुग्न आरुघाटबाट तीनदिन हिँड्नुपथ्र्यो । सिर्दिबासको पनि पाङसिङ अझै दुर्गम, अझै पिछडिएको, अझै फोहर थियो । त्यहाँका एक ज्येष्ठ नागरिक बलबहादुर कार्कीका अनुसार २०२२ सालमा झाडापखाला फैलिएर पाङसिङ गाउँका ९० जनाको मृत्यू भएको थियो ।
२०५५ सालतिर पनि त्यहाँ झाडापखालाबाट करिब २० जनाले जीवन गुमाएका हुन् ।
१० बर्षअघिसम्म पनि सो गाउँमा खानेपानी र सौचालयको समस्या थियो । ११६ घरधुरी रहेको पाङसिङमा त्यतिबेला पाँच, छ ठाउँमा मात्र धारा थिए । सौचालय पनि त्यस्तै संख्यामा थिए । शिक्षा, चेतनाको अभाव थियो ।
जब भूकम्प गयो, विभिन्न एनजीओ, आइएनजीओहरु गाउँमा आए । त्यसपछि गाविस, एनजीओहरु गाउँमा आए । उनीहरुले संयुक्त रुपमा मिलेर गाउँमा सौचालय बनाउने अभियान सञ्चालन गरे । एकघर एकधारा निर्माणको काम भयो । व्यक्तिगत सरसफाइ तथा गाउँको सरसफाइ सरसफाइसम्बन्धी कार्यक्रम सुरु भयो । महिला समूहको नेतृत्वमा युवा क्लव, सामाजिक संघसंस्थाहरु मिलेर सरसफाइ अभियान सञ्चालन गरे ।
त्यसको नतिजास्वरुप अहिले पाङसिङ गाउँ स्वच्छ, सफा हराभरा भएको छ । १० बर्ष यता गाउँमा झाडापखाला फैलिएको छैन । कथं यदाकदा कसैलाई झाडापखाला लागे पनि त्यसले सरुवा रोगको रुप लिएको छैन । गाउँमा स्वच्छ खानेपानीको एक घर एक धारा छ ।
गाउँको बीचमा फराकिलो बाटो बनेको छ । साप्ताहिक रुपमा गाउँ सफा गर्ने अभियान चलेको छ । डँडेलो लगाउने र शिकार खेल्ने परम्परा रोकिएको छ । यसले पाङसिङ गाउँको मुहार फेरिएको छ । पाङसिङ गाउँको गरिमा बढेको छ ।




