| मङ्लबार, कार्तिक २४, २०८३

शिक्षा, स्वास्थ्य र सरसफाइमा फड्को मार्दै पाङसिङ

१० बर्षअघिसम्म चुमनुब्री गाउँपालिका ३ पाङसिङ गाउँमा झाडापखाला र भाइरल ज्वारोले बर्षेनी करिब १५, २० जना बिरामीले अकालमा जीवन गुमाउनु पथ्र्यो । बिरामीलाई स्वास्थ्य संस्थामा लैजानुपर्छ भन्ने जनचेतनाको कमी थियो । घरमै झारफुक गरेर राख्दा धेरै जनधनको क्षति हुने रहेछ भन्ने जनचेतना जाग्दै गयो ।

बर्षेनी अकालमा धेरैको जीवन गुम्न नदिन स्थानीयबासी र सरकारी, गैरसरकारी संस्था लागि परे । महिला समूह, युवा क्लव, वडा कार्यालय, मनास्लु संरक्षण क्षेत्र आयोजना र विभिन्न गैरसरकारी संस्थाहरु शिक्षा, स्वास्थ्य र सरसफाइको अबस्था सुधार गर्न लागि परे ।

त्यसको नतिजा, बिगत १० बर्षयता त्यहाँको दृश्य फेरिएको छ । अहिले त्यहाँ रहेका ११६ घरधुरीमध्य सबै घरमा स्वच्छ खानेपानीको धारा छ । कुनै पनि घरधुरी सौचालयबिनाका छैनन् । सरसफाइको नेतृत्व महिला समूहले लियो । ‘२०७२ सालपछि हामीले गाउँ सरसफाइ गर्नुपर्छ भन्ने लहर ल्यायौँ’, महिला समूहकी अध्यक्ष सुनकुमारी गुरुङ भन्छिन्, ‘पहिले घरघरमा ट्वाइलेट थिएन । आमा समूह पनि थिएन ।

१० बर्षजति भयो, अहिले आमा समूह गठन भयो । टोलटोलमा समिति बनाएर हप्तैपिच्छे गाउँटोल सरसफाइ कार्यक्रम गर्न थाल्यौँ । त्यसपछि गाउँको रुपै फेरियो ।’ अहिले आक्कलझुक्कल कसैलाई झाडापखाला लागेपनि त्यसले गाउँ नढाक्ने उनले बताइन् । ‘बेलाबेला बिरामी त कहाँका मान्छे हुदैनन् र तर अहिले पहिले जस्तो छैन । मान्छे जान्नेबुझ्ने भइसके’, सुनकुमारीले भनिन् ।

महिला समूहको नेतृत्वमा युवा क्लव पनि हातेमालो गरी गाउँ सरसफाइमा सामेल हुन्थ्यो । महिला समूह र युवा क्लवको अनुरोधलाई सकार्दै एकघर एक सौचालय अभियानमा मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) र तत्कालीन गाविस कार्यालयले पनि सघायो ।

‘ट्वाइलेट चाहिन्छ भनेर सबैले बुझेपछि घरघरमा ट्वाइलेटको खाल्डो खन्न सुरु भयो । एमक्याप र गाविसले पाइप र प्यान दिए’ युवा क्लवका सचिव वुद्ध गुरुङले भने, ‘अक्स्फामको सहयोगमा एकीकरण नेपालले एक घर एक धारा कार्यक्रम सञ्चालन ग¥यो ।

१० बर्षअघि यत्रो गाउँमा जम्मा ६, ७ वटा धारा थिए, चार, पाँचवटा घरमा ट्वाइलेट थिए । अहिले घरैपिच्छे धारा छ, घरैपिच्छे ट्वाइलेट छ ।’ १० बर्षयताको परिवर्तन उल्लेखनीय रहेको उनले बताए ।

गाउँलेमा नुहाइधुवाइ गर्नुपर्छ भन्ने चेतना जागेको सोही गाउँ घर भएका वडा सदस्य विकास गुरुङको भनाइ छ । ‘दुखका साथ भन्नुपर्छ, १० बर्षपहिले हरेक बर्ष झाडापखाला र भाइरल जोरोले बर्षेनी १५, २० जना मान्छे मर्थे । तर अहिले त्यो अबस्था छैन’, उनले भने, ‘बिरामी भयो भने धामीझाँक्रीकै भर पर्नुपर्ने अबस्था थियो । अहिले औषधी उपचार गर्नुपर्छ भनेर बुझिसकेका छन् ।’

तर अहिले पनि जोकोही बिरामी हुँदा औषधी उपचार पनि गर्ने, फुकफाक पनि दुवै उपाय गर्ने प्रचलन रहेको महिला समूहकी अध्यक्ष सुनकुमारीको भनाइ छ । ‘ढाँट्न मिल्दैन, अहिले पनि धामीझाँक्री लगाउँछन् । तर पहिलेभन्दा के फरक छ भने, अहिलेचाहिँ धामीझाँक्री पनि लगाउँछन्, हेल्थपोस्ट पनि जान्छन्’, उनी भन्छिन्, ‘बरु हामीलाई हेल्थपोस्ट जानचाहिँ अल्लि टाढा छ ।

डेढघण्टा लाग्छ ।’ क्रिश्चियन धर्म मान्ने मान्छेहरुले पनि बिरामीलाई हेल्थपोस्ट लैजान पर्दैन भनेर घरमै फुकफाक र प्रार्थना गरेर राख्ने गरेको गाउँलेको भनाइ छ । पाङसिङ गाउँलाई अहिले सडकले छोएको छ । नेपाली सेनाले निर्माण गरेको बेनिघाट, आरुघाट लार्के सडक सोही गाउँ हुँदै अघि बढिरहेको छ । सडकमा गाडी गुड्न थालेपछि अझै गाउँको मुहार फेरिने वडाअध्यक्ष रामकुमार गुरुङको भनाइ छ ।

‘गाउँपालिका र वडा कार्यालयले पनि पाङसिङ गाउँको रुप फेर्न जोड दिइरहेका छन्’, वडाअध्यक्ष गुरुङले भने, ‘वडा कार्यालय र डब्लुएफपीले गाउँभित्र पक्कीबाटो बनाएका छौँ ।

अहिले पनि एकघर एकधारा कार्यक्रमका लागि ९० लाख रुपैयाँको कार्यक्रम परेको छ ।’ डँडेलो लगाउनु हुन्न, शिकार खेल्नु हुन्न, छोराछोरी पढाउनु पर्छ, सरसफाइ गर्नुपर्छ भन्ने चेतना जगाउन सफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्