| सोमवार, कार्तिक २३, २०८३

दुर्गममा मातृशिशु स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर

उत्तरी गोरखाका गर्भवती र सुत्केरी महिलाहरुको अवस्था कहाली लाग्दो छ । गरिबी, अशिक्षा र स्वास्थ्य सम्बन्धी चेतनाको अभावमा आमा तथा शिशुले अकालमै ज्यान गुमाउनुपर्ने तितो यथार्थ अझै ताजै छन् । भौगोलिक हिसावले ठगिएको सो क्षेत्र स्वास्थ्य शिक्षाको पहुँच भन्दा बाहिरै छ । चुम्चेतमा सुत्केरी भएको तीन दिनमै मेलापात गर्न हिड्ने अवस्थाले त्यस क्षेत्रमा स्वास्थ्य शिक्षाको अवस्था के छ भनेर छर्लङ्ग बनाइदिएको छ ।

सरकारले स्वास्थ्य शिक्षाको क्षेत्रमा बर्षेनी करोडौँ खर्च गर्छ । तर दुर्गम ठाउँमा यस्तो दर्दनाक अवस्था कहिलेसम्म ? सुगम सरह दुर्गम भेगका गर्भवती र सुत्केरी महिलाहरुले स्वास्थ्य सेवाको उपभोग गर्न कहिले पाउलान् ? यो प्रश्न सधै खड्किरहन्छ ।

मातृ र शिशु मृत्युदर घटाउने कार्यक्रममा सरकार लागिपरेको देखिन्छ । राज्यको ढुकुट पनि यसमा राम्रै खर्च भइरहेको छ । तर त्यो लगानीको हिस्सामा उत्तरी गोरखा जस्ता दुर्गम भेग समेटिन सकेका छैनन् । एक त मातृशिशु सुरक्षाबारे चेतनाको कमी उनीहरुमा सधै खड्किरहेको छ । गर्भ तथा स्वास्थ्य परीक्षण गराउने चेतना छैन, त्यससम्बन्धी दक्ष जनशक्तिको अभाव पनि अर्काे समस्या छ । गर्भवती र सुत्केरी अवस्थामा महिलाहरुको स्वास्थ्यको बिशेष ख्याल गर्नुपर्छ । गर्भवती भएदेखि सुत्केरी नहुदा सम्म कम्तिमा चारपटक गर्भ जाँच गराउनुपर्छ ।

नियमित गर्भ जाँच गराउनेहरुलाई प्रोत्साहन भत्ता पनि दिने गरेको छ । अहिले बिभिन्न स्थानीय तहले उपाध्यक्ष कोसेली भन्दै नियमित गर्भजाँच गराउने गर्भवती महिलाहरुलाई राहत वितरण समेत गर्दै आएको छ । बजार क्षेत्रमा यो प्रभावकारी देखिएपनि दुर्गममा यसको प्रभावकारिता न्यून छ । अधिकांश महिला गर्भ परिक्षण नगराउने मात्र होइन स्वास्थ्य संस्थामा सुत्केरी गराउन समेत जादैनन् । पौष्टिक आहारको कमीले गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्मा चुनौति बढाएको छ ।

केही स्वास्थ्यकर्मी सहित स्वास्थ्य कार्यालयका सिंगो टिम केही दिनअघि मात्र उत्तरी गोरखा पुगेर फर्किएका छन् । सो क्षेत्रको स्वास्थ्य अवस्थाबारे बुझ्न र स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने काममा पनि उनीहरु सरिक भए । स्वास्थ्य सम्बन्धी जिल्लामा पनि धेरै कार्यक्रमहरु संचालन हुने गर्छन् । तर उत्तरी गोरखामा यस्ता कार्यक्रम बिरलै हुने गर्छन् । समग्र उत्तरी गोरखाको क्षेत्रलाई समेटेर मातृ र शिशु स्वास्थ्य सम्बन्धी सचेतना फैलाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्