
श्रमवैँक : भीमसेनथापा गाउँपालिकाको नौलो अभ्यास
भीमसेन थापा गाउँपालिकाले बेरोजगार भएकाहरुलाई रोजगारी दिन नयाँ अवधारणा अघि बढाएको छ । सबै खालको सीप, योग्यता, दक्षता भएका जनशक्तिले उपयुक्त काम(रोजगारी) पाउन् भन्ने उद्देश्यले पालिकाले श्रम वैँक स्थापना गरेको छ ।
केही दिनअघि पालिकाले सार्वजनिक सूचना जारी गर्दै श्रमवैँकमा आवद्ध हुन अनुरोध गरेको छ ।
प्लम्बिङ, वायरिङ, वेल्डिङ, सिकर्मी, डकर्मी लगायतका तालिमप्राप्त जनशक्तिले आफ्नो विवरण श्रमवैँकमा दर्ता गरी राख्न पालिकाले आग्रह गरेको छ । साथै शिक्षा, स्वास्थ्य, प्राविधिक लगायतका क्षेत्रका सीप, योग्यता भएका व्यक्तिले पनि आफ्नो विस्तृत विवरण पालिकाको श्रमवैँकमा दर्ता गरिराख्न आग्रह गरेको छ ।
यदि पालिकाभित्र सरकारी तथा गैरसरकारी संस्थाको कार्यालयका लागि कुनै पनि तालिमप्राप्त जनशक्तिको खाँचो प¥यो भने त्यही श्रमवैँकबाट जनशक्ति लिन सकिने कार्यविधि पालिकाले तयार गरेको छ । कुनै पदका लागि विज्ञापन आव्हान भयो भने सोही श्रम वैँकमा सूचीकृत भएका उम्मेद्वारलाई प्राथमिकता दिइने पालिकाको योजना छ । यद्यपि विज्ञापन खुलेका बेला दरखास्त दिन पाउने अधिकार नेपाल भरिका योग्य उम्मेद्वार सबैलाई हुन्छ । छनौट गर्दा प्राथमिकता भने श्रमवैँकमा सूचीकृत भएका उम्मेद्वारले पाउनेछन् ।
बिभिन्न पालिकाहरुले आफ्ना पालिकालाई सुदृढ गर्न, संवृद्ध बनाउन यस्तै खालका नयाँनयाँ सिर्जनात्मक, रचनात्मक कार्यक्रमहरु गर्दै आएका छन् । भीमसेन थापा गाउँपालिकाको यो नयाँ कार्यको सुरुवात हो ।
श्रमवैँकको अवधारणा राम्रो अवधारणा हो । यसको देखासिकी गर्दा अरु पालिकाहरुका लागि पनि फलदायी नै हुनसक्छ । नयाँनयाँ कार्यक्रमको अवधारणा आफूले सिर्जना गर्नु धेरै राम्रो हुन्छ । कतिपय आफ्नो मनमा, दिमागमा नआएका तर अरुले अघि सारेका राम्रा अवधारणालाई देखासिकी गर्नु पनि राम्रै हुनेछ ।




