
रुइला, ङुइलामा बिओपी राख्न केले रोक्यो ?
पाँचबर्षअघि साम्दोबाट रुइला नाकासम्म सडक निर्माण गर्ने गरी गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसबर्ष केही काम पनि हुन सकेन । फेरि दोस्रो बर्ष पनि सो कार्यक्रम र बजेटलाई निरन्तरता दिइयो ।
त्यसको पनि कुनै प्रगति हुन सकेन । तेस्रो बर्ष बजेट घटेर आयो, दुईकरोड । तर कार्यान्वयन गर्ने बेला ‘सडक’ नभनी ‘पदमार्ग’ भनेर शीर्षकान्तर गरियो, रकमान्तर पनि गरियो । त्यसबाट करिब एक किलोमिटर पदमार्ग निर्माण गरियो ।
त्यहाँ सडक निर्माण गर्न केले रोक्यो ? न त्यस क्षेत्रका बासिन्दाले उत्तर पाएका छन्, न अरुले ।
अहिले बिओपी राख्ने विषयमा पनि त्यस्तै भएको छ । गत साउन महिनाको दोस्रो हप्तामा गृहजिल्ला गोरखा आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखाका दुई नाका रुइला र ङुइलामध्य पहिलो चरणमा रुइला नाका क्षेत्रको सुरक्षा गर्नेगरी साम्दोमा बोर्डर आउट पोस्ट(बिओपी) स्थापना गर्ने उद्घोष गरेका थिए । साथै साउनभित्रै बिओपी राखिने भनेर उनले मिति पनि किटान गरेका थिए ।
गृहमन्त्रीले नै घोषणा गरिसकेपछि अब छिट्टै बिओपी स्थापना हुन्छ भन्नेमा सबै आश्वस्त थिए । गृहमन्त्रीले घोषणा गरेको मिति गुज्रिएको पनि चार महिना भइसक्यो, तर बिओपी स्थापना भएको छैन ।
सशस्त्र प्रहरीले बिओपी राख्नका लागि साम्दोमा सघन छलफल गरिसकेको छ । ठाउँ तोकिसकेको छ, भाडा यति तिर्ने भनेर द्विपक्षीय सहमति पनि भइसकेको छ । बिओपीका लागि जाने इञ्चार्ज(इन्स्पेक्टर)सहित सकल दर्जाका व्यक्तिहरु पनि तोकिसकेको छ ।
माथिबाट आदेश आउनेवित्तिकै हिँड्ने गरी झोला तयारी अबस्थामा राखेका छन् । तर यत्तिका समय भइसक्दा अझै ‘माथिको आदेश’ आएको छैन । आखिर रोकेको छ कुन अदृश्य शक्तिले ? यसको जवाफ कसले दिनसक्छ ?




