| सोमवार, कार्तिक २३, २०८३

सातै प्रदेशका गृहमन्त्री प्रदेशमा प्रहरी समायोजन माग गर्दै काठमाडौंमा

प्रदेश सरकारले बनाएका प्रहरी ऐन कार्यान्वयनको गर्दै प्रहरी समायोजन माग गर्न सातै प्रदेशका गृहमन्त्रीहरू सरकारको ध्यानाकर्षण गराउन काठमाडौं गएका छन् ।

उनीहरूले प्रहरी समायोजन माग गर्दै आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन् ।

दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले जानकारी दिए।

आजै प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई भेटेर प्रहरी समायोजनको विषयमा सबै प्रदेशका गृहमन्त्री जुटेका हौं, समायोजन नहुँदा सबै प्रदेश सरकारलाई धेरै समस्या परेको छ, उनले भने ।

प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।

प्रदेशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कारण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको आरोप रहेको छ ।

संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन आवश्यक कानुन नबनाएको गुनासो गर्दै यसअघि पनि उनीहरूले प्रहरीबिनाको प्रदेश सरकार अपूर्ण रहेको बताउँदै आएका छन् ।

प्रहरी ऐन बनेका प्रदेशमा दशैंपछि प्रहरी भर्ना गर्न पाउने मौखिक संकेत पाएका प्रदेश सरकारलाई अहिलेसम्म कुनै संकेत नआएपछि पुनः सरकारको ध्यानाकर्षण गराउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्