| सोमवार, कार्तिक २३, २०८३

पालुङ्टारमा अझै पनि काठेपोल !

गोरखामा काठेपोल विस्थापन गर्ने कार्यक्रम स्थानीय तहको पनि छ । प्रदेश सरकारको पनि छ । केन्द्र सरकारको पनि छ र विद्युत प्राधिकरणको पनि छ ।

काठे पोल विस्थापन गर्ने कार्यक्रम अन्तर्गत तीनबर्षअघि सिँचाइ डिभिजन कार्यालयले पनि पोल बाँडेको थियो । काठेपोल विस्थापनका लागि विद्युत प्राधिकरणको परिसरमा फलामे पोलको डाँडाजत्रो थुप्रो थियो, अझै पनि छँदैछ । तर यति हुँदा पनि पालुङ्टार नगरपालिका वडा नं. ९ को सिस्नेरी टोलमा काठेपोल अझै पनि छ । त्यहाँका करिब डेढसय घरधुरीका उपभोक्ताले बाल्ने विद्युत स्थानीय लाइन अझै पनि काठेपोलबाट तानिएको छ ।

सो वडाको सबै टोलमा जिल्ला सदरमुकामबाट अथवा पालुङ्टार(ठाँटीपोखरी)बाट तानिएको विद्युत प्रशारण लाइनबाट बत्ती बाल्ने गर्छन् । जुन प्रशारण लाइनमा समस्या आउने वित्तिकै समाधान गर्ने मेकानिज्म छ । तर सो टोलमा सत्रसयबाट घुमाएर ल्याइएको प्रशारण लाइनबाट बत्ती बाल्ने गरिन्छ । जंगलै जंगल टाँगिएको सो प्रशारण लाइन बिग्रिएमा मर्मत गर्न केहीदिन कुर्नुपर्ने बाध्यता छ । साथै सडक लाइनभन्दा टाढा ट्रान्सफर्मर राखिएको छ, जुन बिग्रियो भने मर्मत गर्न जान पनि कठिन छ । मर्मत गर्न हेटौडा लैजानु पर्यो भने पनि गाडीसम्म लैजान धेरै हम्मेहम्मे पर्ने अबस्था छ ।

जिल्लाका दुर्गमसम्म केन्द्रीय प्रशारण लाइन विस्तार भइरहेको छ, तर सुगम मानिने पालुङ्टार नगरपालिकाको पनि सबैभन्दा दक्षिणमा पर्ने सो बस्तीमा अहिलेसम्म काठेपोलकै भर पर्नु दुखद कुरा हो । काठे पोल हुँदा हावाहुरी, झरीमा पोल ढल्ने, विद्युत सेवा अवरुद्ध हुने समस्याबाट विद्युत उपभोक्ताहरु आजित भएका छन् ।

सो समस्या समाधानका लागि स्थानीय तह, प्रदेश सरकार वा विद्युत प्राधिकरणले ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्