
अनाधिकृत आर्थिक लेनदेन गर्ने दुवै पक्ष दोषी हुन्छन्
गत असोज २४ गतेदेखि कात्तिक चार गतेसम्म हरमटारी खेलमैदानमा सञ्चालन भएको वृहत लोकदोहोरी महोत्सवमा आयोजकसँग फेन्सी व्यावसायी संघका जिम्मेवार पदाधिकारीले अनाधिकृत रुपमा आर्थिक लेनदेन गरेको घटनाले अहिले बजार तातेको छ ।
दशैँका बेला महोत्सवमा फेन्सी सामग्री बिक्री गर्दा बजारका फेन्सी व्यवसायीहरुलाई प्रत्यक्ष दुस्प्रभाव पर्ने भन्दै व्यवसायीहरुले विरोध गर्दागर्दै एकाएक विवाद साम्य भएपछि आर्थिक चलखेलको शंका गरिएको थियो ।
केही दिनअघि आयोजक संस्थाका एक जिम्मेवार पदाधिकारीले फेन्सी व्यवसायीका एक जिम्मेवार पदाधिकारीलाई रकम दिएको भनेर दरौँदीका प्रतिनिधिसंग स्पष्ट बताएको खबर पत्रिकामा प्रकाशन भएपछि सत्यतथ्य कुरा बाहिर ल्याउन फेन्सी व्यवसायीहरुले माग गरेका छन् । उनीहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै सो घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारवाही गर्नसमेत माग गरेका छन् ।
महोत्सवको विषयलाई लिएर आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा र फेन्सी व्यवसायी संघ गोरखा बीच भएको विवाद मिलाउनका लागि गोरखा नगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाहरुको वैठकले एक किसिमको सहमति गरेका थिए ।
सहमति अनुसार फेन्सी सामग्रीका कुल १३ वटा मात्र स्टल रहने, जसमध्ये ६ वटा स्टल जिल्लाभित्रैका फेन्सी व्यवसायीलाई उपलब्ध गराउने भन्ने थियो, तर सहमतिमा हस्ताक्षर गरेको भोलिपल्टै अधिकांश स्टलमा फेन्सी आइटम देखेपछि जिल्लाका फेन्सी व्यवसायीले महोत्सव स्थलमा केहीबेर लफडा गरेका थिए । विवाद मिलाउन फेन्सी व्यवसायी संघका जिम्मेवार पदाधिकारीले आर्थिक लेनदेन गरेको कुरा बाहिरिँदा व्यवसायीहरुको गरिमा र प्रतिष्ठामा समेत गम्भीर आँच पुगेको भन्दै उनीहरुले गुनासो गर्नु स्वभाविक छ ।
घुस लिने र दिने दुवै दोषी हुन्छन् । आर्थिक लेनदेनको दलदलमा दुवै संस्था फँसेपछि अहिले फेससेभ गर्ने अबस्थामा पुगेका छन् । लिनेले लिएको छैन र दिनेले दिएको छैन भनेर दाबी गर्ने अबस्थामा दुवै संस्था पुगेका छन् ।




