
चोरीका मोटरसाइकल किन फेला पर्दैनन् ?
केहीबर्षअघि प्रहरीले चोरीका मोटरसाइकल बरामद गर्ने विशेष अभियान सञ्चालन गरेको थियो । विशेष अभियानमा भारतबाट राजस्व छलेर ल्याइएका तथा चोरेर नक्कली नम्बरप्लेट राखेका मोटरसाइकल धमाधम बरामद हुन थालेका थिए । त्यतिबेला प्रहरी कार्यालयको परिसरमा झण्डै एकसय भन्दा धेरै चोरीका मोटरसाइकलहरु बरामद भएका थिए ।
त्यतिबेलाका शीर्ष राजनीतिक पार्टीका शीर्ष नेताले चढ्ने राजस्व छलीका मोटरसाइकल पनि बरामद भएका थिए । ग्रामीण रुटमा लुकाइछिपाइ चलाइने चोरीका मोटरसाइकल पनि बूढीगण्डकी, दरौँदी नदीभित्र फालेका घटना बाहिर आएका थिए । चोरीका मोटरसाइकल प्रहरीले कुनै पनि बेला समात्छ भन्ने त्रास के गाउँ, के सहर सबैका मनमनमा परेको थियो ।
तर अहिले समय बदलिएको छ । अहिले आँगनबाटै मोटरसाइकल गायब हुन थालेका छन् । गत चार महिना यता नौ वटा मोटरसाइकल चोरी भइसकेका छन् । चोरीका मोटरसाइकल फेला नपरे यो संख्या अझै बढ्ने निश्चित छ ।
हराएका मोटरसाइकल सबै रातको समयमा नै चोरी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आफ्नो सामानको हिफाजत आफैले गर्नुपर्छ, सुरक्षाको बलियो ब्यवस्था आफैले गर्नुपर्छ, यो स्वयंसिद्ध तथ्य हो । विशेषगरी रातको समयमा पार्किङ गरी राख्दा चोरले नभेट्ने ठाउँमा राख्नुपर्छ । भेटे पनि लैजान नसक्ने गरी राख्नुपर्छ ।
तर यतिले मात्र पुग्दैन । चोरका हजार दाउ हुन्छन् । अनेक टिकडम गरी चोर्न सक्छन् ।
चोरीका मोटरसाइकल खोज्ने कार्यलाई पनि कडाइका साथ लागु गरियो भने चोर्नेहरु पनि हच्किन सक्छन् । नेपाल प्रहरीले अपराध अनुसन्धानका धेरै काम गर्न सक्छन् भन्ने जनमनमा सन्देश छ । सन्देश मिथ्या नगराउन प्रहरीको सक्रियताको खाँचो देखिएको छ ।




