| मङ्लबार, कार्तिक २४, २०८३

विदेशी नागरिकको सहयोगमा सामागाउँमा स्वास्थ्य चौकी भवन

एकजना विदेशी नागरिकको आर्थिक सहयोगमा सामागाउँमा स्वास्थ्य चौकीको नयाँ भवन बनेको छ ।

स्वीजरल्याण्डका नागरिक उस्लाको आर्थिक सहयोगमा चुमनुब्री गाउँपालिका–१ सामागाउँमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको हो ।

उनको ४६ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनको मंगलवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सहयोगी उस्ला स्वयंले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवनमा कुल ६ वटा कोठा रहेको स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मण कार्कीले बताए । उनका अनुसार २०७८ सालबाट भवन निर्माणको काम सुरु भएको थियो ।

२०८० साल असोज महिनामा भवन सम्पन्न भएको उनले जानकारी दिए । यसअघिको स्वास्थ्यचौकी भवन बाढीले क्षति पु¥याएको थियो । गाउँबाट पारिपट्टि रहेकाले पनि बर्खा र हिउँदमा खोला वारपार गर्न स्थानीयलाई समस्या हुदै आएको थियो । अहिले गाउँकै बीचमा स्वास्थ्यचौकी निर्माण भएकाले स्वास्थ्य सेवा लिन स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ ।

दुर्गम क्षेत्र भएकाले गर्भवती महिलाहरुलाई थप समस्या हुने गरेकाले भिडियो एक्स–रे र ल्यावका सामग्री उपलब्ध गराइदिन आग्रह गरिएको कार्कीले बताए । भवन उद्घाटन कार्यक्रममा पूर्व वडाध्यक्ष वीरबहादुर लामा, सदस्य मिङ्मार लामा तथा स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रम पश्चात कम्युनिटी एक्सन नेपाल(क्यान) नामक संस्थका पदाधिकारीहरुले उक्त स्वास्थ्य चौकी भवनको अवलोकन तथा अनुगमन गरेका थिए । सो संस्थाले स्वास्थ्य चौकीमा एक जना स्वास्थ्यकर्मीका साथै औषधी उपलब्ध गराउदै आएको छ । उक्त कार्यलाई आगामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता उनीहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्