
व्यवसाय होओस् त यस्तो
काठमाडौँमा रेस्टुरेन्ट, क्लव तथा प्रकाशनको चकाचक व्यवसाय गरिरहेका व्यवसायीहरु उपत्यकाबाट बाहिर गएर करोडौँ लगानी गरेर व्यवसाय गर्लान् र त्यहाँ रमाएर टिक्लान् भन्ने कल्पना गर्न गाह्रै हुन्छ ।
दिनरात अबिराम चल्ने ठमेलको रेस्टुरेन्ट व्यवसायमा व्यस्त सन्तोष चौलागाईँ बिगत तीनबर्षदेखि गोरखाको लामबगैँचामा कुखुरा पालन व्यवसायमा भुल्नु काल्पनिक कुरा होइन, यथार्थ हो ।
राजदरबार उत्तरढोकामा वेलनेस अर्गानिक क्लव सञ्चालन गर्ने फणिन्द्र पाण्डे, प्रकाशन व्यवसाय गर्ने सर्वकल्याण कँडेलको साथ र सहयोगमा चापागाईँले अहिले पालुङ्टार नगरपालिका ६ लामबगैँचामा ठूलो परिमाणको कुखुरा पालन गरेका छन् ।
परिमाणका हिसाबले उनको गोर्खाल्याण्ड एग्रिकल्चर प्रालिको कुखुरा फर्मभन्दा ठूला अरु पनि छन्, तर गुणस्तरका दृष्टिले यो अब्बल यो अर्थमा छ कि, यहाँ पाँचसय बोट रहेको लिचीको बगैँचामा लोकल कुखुरा बाहिरै खुल्ला रुपमा पालन गरिएको छ । त्यसमाथि पनि ती १० हजार कुखुरालाई आफैले तयार गरेको अर्गानिक दाना खुवाइन्छ । ४० रोपनी क्षेत्रफलमा फैलिएको बगैँचामा डुलाएर चराइन्छ । ३० रोपनी क्षेत्रफलमा रोपिएको घाँस खुवाइन्छ ।
त्यहाँ न्यूह्यामसायर र ब्ल्याक स्ट्रलोप जातका कुखुरा पालन गरिन्छ । झण्डै ६० बर्षदेखि नेपालमा पालिँदै आएको सो कुखुरालाई अहिले लोकल कुखुरा भन्न सकिन्छ । ती कुखुराले दैनिक पच्चीससय गोटा फुल पार्छन् । दैनिक २० हजार फुल उत्पादन गर्ने लक्ष्य सो फर्म सञ्चालकको छ । यहाँ उत्पादित लोकल कुखुराको फुल अहिले काठमाडौँका भाटभटेनी सुपरमार्केट र वेलनेस अर्गानिक क्लवबाट बिक्री हुने गर्छ ।
जति धेरै उत्पादन गरे पनि बजारको कुनै समस्या नरहेको र पछि पनि कुनै समस्या नरहने फर्म सञ्चालकको विश्वास छ ।
यस्ता खालका नयाँ सोचका साथ व्यवसाय गर्न सके व्यक्ति र देशकै अर्थतन्त्र संवृद्ध हुनसक्थ्यो । सरकारले पनि कागजपत्र मिलाएर मात्र अनुदान लिनेलाई भन्दा यस्तो व्यवसाय गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।




