| सोमवार, कार्तिक २३, २०८३

सीमा क्षेत्रका बासिन्दाका दुख

गत साउनमा सम्पन्न तिब्बती अधिकारी र चुमनुब्री गाउँपालिका वडा नं. १ र २ का जनप्रतिनिधिका बीच सम्पन्न बैठकले सेप्टेम्बर १२ देखि सीमा नाका खुल्ने तिब्बती पक्षले जानकारी गराएका थिए । त्यस्तै वडा नं. ७ का जनप्रतिनिधिमार्फत स्थानीयबासीलाई पनि सेप्टेम्बर १२ देखि नाका खुल्ने हुँदा नागरिकता लिएर तिब्बत प्रवेश गर्न सकिने जनाएका थिए ।

चार बर्षसम्म बन्द रहेको नाका खुल्ने खबरले त्यस क्षेत्रका बासिन्दामा खुशीको सीमा रहेन । सेप्टेम्बर १२ मा रुईला नाका पार गर्ने लक्ष्य राखी चुमनुब्री २ ल्हो र स्योका २७ जना त्यसअघि नै घरबाट निस्किए । तर बाटोमा पुगेपछि बोर्डर पास पनि साथमा लिएर आउन सूचना गरे । साम्दो पुगिसकेका ल्हो, स्योबासीहरु त्यहाँबाट अघि बढ्न सकेनन् ।

एकदुई दिनभित्रै बोर्डर पास आउँछ कि भन्ने आशाले उनीहरु साम्दोमा दुईदिनसम्म बसे । यता वडा नं. १ र वडा नं. २ का वडाअध्यक्षहरु पास बनाइदिन माग गर्दै कुदेर जिल्ला प्रशासन कार्यालय(सदरमुकाम) आइपुगे । प्रमुख जिल्ला अधिकारीले बोर्डर पास नविकरण गर्न माथि(गृहमन्त्रालय)बाट आदेश आउनु पर्ने बताए । फेरि उनीहरु बोर्डर पास छिटो बनाइदिन माग गर्न गृहमन्त्रालय पुगे । तर विभिन्न अड्चन देखाएर गृहमन्त्रालयले धेरै लामो समय झुलाइदियो ।

बल्लतल्ल असोज १६ गतेबाट बोर्डर पास प्रदान गर्न सुरु गरियो । ३८४ जनाले बोर्डर पास पाए । छेकम्पारका दुईजना बोर्डरपास र नागरिकता बोकेर तिब्बती बजारतिर हिँडे तर ङुइला नाकाबाट चिनियाँ सशस्त्र प्रहरीले तिब्बत छिर्न दिएन । आफूहरुले सम्पर्क गरेपछि मात्र आउनू भनेर चिनियाँ अधिकारीले निर्देशन गरे । सामागाउँ, ल्होतर्फका जनप्रतिनिधिको त फोन पनि रिसिभ गरेका छैनन्, म्यासेजको रिप्लाइ पनि गरेका छैनन् ।

दुर्गम क्षेत्रका बासिन्दा धेरै समस्यामा छन् । उनीहरुको समस्याको अध्ययन गरी स्थायी तबरले समाधानको पहल गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्