
गाउँ चिनाउने म्युजिक भिडियोको महत्व
पछिल्लो समय आफ्नो गाउँठाउँ चिनाउने म्युजिक भिडियो बनाउने क्रम बढिरहेको छ । गोरखाका धेरै गाउँको प्रवद्र्धनात्मक म्युजिक भिडियोहरु बनेका छन् । केही दिनअघि मात्र चुमनुब्री गाउँपालिका ६ र ७ चुमभ्यालीको प्रवद्र्धनात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
छेकम्पार(निले)का छाङ चुम्पा लामाको अगुवाइमा ‘हाम्रो चुमभ्याली’ नामकको म्युजिक भिडियो निर्माण भएको हो । सो म्युजिक भिडियोमा चर्चित गायक राजु लामा र छेकम्पारकी उदियमान गायिका छिरिङ ल्हामो चुम्पाको आवाज रहेको छ । आरुघाटका कलाकार राजु थाापको संगीत, पोखराका चर्चित नृत्य निर्देशक लबसन गुरुङको निर्देशन र अमृतमान गुरुङको कोरियोग्राफी रहेको छ । साथै अहिलेका नवोदित मोडलहरु जोनिशा गुरुङ र सेराप ग्याल्जेन लामा प्रमुख मोडलका रुपमा रहेका छन् । उनीहरु स्थानीयबासी हुन् । जेनिसा चुमनुब्री ३ न्याककी हुन् भने सेराप छेकम्पारका हुन् ।
सो म्युजिक भिडियोले मोटरबाटो पनि नपुगेको चुमभ्यालीमा अनुपम प्राकृतिक सुन्दरता, अपार प्राकृतिक स्रोत, सांस्कृतिक तथा जैविक विविधताको राम्ररी प्रचार प्रसार, संरक्षण र प्रचार प्रसार गर्न मद्दत पुग्ने आशा राख्न सकिन्छ । साथै स्थानीय कलाकार र उनीहरुका कलालाई थप उजागर गर्ने उद्देश्य पनि रहेको छ ।
यस्ता म्युजिक भिडियो अन्य गाउँ, ठाउँका बारेमा पनि बनेका छन् । विशेषगरी धार्चे र चुमनुब्रीका अधिकांश गाउँ, टोलका बारेमा म्युजिक भिडियो बनेका छन् । सिरानचोक र बारपाक सुलीकोटका केही गाउँ टोलका बारेमा पनि म्युजिक भिडियो बनेका छन् ।
भाषणका तथा आलेखका हजारौँ शव्दले बर्णन गर्न नसक्ने विषय म्युजिक भिडियोमा प्रयोग भएका एउटै भिडियोले आकर्षक ढंगले प्रस्तुत गरिदिन्छ । साथै म्युजिक भिडियोमा प्रयोग भएका भिडियोहरुले स्थानीय धार्मिक, सांस्कृतिक, पर्यावरणीय, प्राकृतिक स्थलहरुको संरक्षण र संवद्र्धन पनि हुनेछ । त्यसैले गाउँ ठाउँको चिनारी गराउने म्युजिक भिडियो बनाउनु सकारात्मक काम नै हुनेछ ।




