| सोमवार, कार्तिक २३, २०८३

स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौँ

गोरखाको व्यापारिक थलो भच्चेक बजारमा सिस्नु पाउडर उत्पादन गर्न सुरु गरिएको छ । स्थानीय अजीरकोट सिस्नु पाउडर उद्योगले सिस्नु पाउडर उत्पादन गर्न सुरु गरेको हो । सो उद्योग स्थानीय हरियाली बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको हो ।

सिस्नु पाउडर स्वास्थ्यका लागि धेरै उपयोगी हुने भएकाले लोकप्रिय छ । स्वस्थकर हुँदा यसको बजार राम्रो छ । बजार राम्रो भएकाले यसको व्यवसायिक उत्पादन सुरु गरिएको सञ्चालकहरुको भनाइ छ ।

सिस्नुपाउडर हाल तारे होटलहरुमा स्वादिष्ट र पोषिलो परिकारका रुपमा प्रयोग गरिन्छ । साथै सिस्नु पाउडर अमेरिका, यूरोप, अस्ट्रेलिया लगायतका मुलकहरुमा निर्यात हुने गरेको छ । जति ठूलो परिमाणमा उत्पादन गरे पनि बजारको अभाव नहुने भएकाले यसको उत्पादन र आम्दानी कति गर्ने भन्ने उद्योग सञ्चालकको खुबीमा निर्भर हुनेछ ।
यसले सिस्नु पाउडर उत्पादकलाई मात्र लाभ हुदैन, सिस्नुको व्यवसायिक खेती गर्ने किसानलाई पनि प्रत्यक्ष लाभ पुग्छ । सिस्नु उत्पादन गरेर उद्योगलाई बेच्नेहरुको पनि आयआर्जन वृद्धि हुनेछ ।

उत्पादक र व्यवसाय गर्नेलाई मात्र होइन, उपभोक्तालाई पनि यो लाभदायक हुनेछ । बजारका तयारी खाना, मिसावटयुक्त खानेकुरा, गुणस्तरहीन तथा पत्रु खानेकुराले जनस्वास्थ्यमा खेलवाड गरिरहेको अबस्थामा सिस्नुपाउडर जस्ता अर्गानिक र पोषिलो खानेकुराले उपभोक्ताको स्वास्थ्यमा पनि लाभ पुग्नेछ । त्यसैले यस्ता उत्पादनलाई प्रवद्र्धन गर्नु सबैको दायित्व हुन्छ ।

विशेषगरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पनि यस्ता कार्यलाई हौसला बढाउनु पर्छ । स्थानीय उत्पादनलाई बढवा दिन उत्पादकहरुलाई अनुदान दिनसक्नु पर्छ । साथै एकठाउँमा मात्र यस्ता उत्पादन भएका छन् भने यसलाई अन्यत्र पनि बिस्तार गर्न प्रेरित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्