
शिक्षा र चेतनाको विकास : सभ्य बन्दै चाडपर्व
कुनै समय थियो, कुनै चाडपर्व आउँथ्यो कि, कसैमाथिको रिस साँध्ने मौका जुथ्र्यो । चाडपर्व सुख, शान्ति, रमझम होला भन्दा कहाँ, कसले, कसलाई आक्रमण गर्ला, मार्ला कि घाइते बनाउला भन्ने जगजगी हुन्थ्यो ।
वैदेशिक रोजगारीमा गएकाहरु बर्ष, दुईबर्षमा रमाउँदै आफ्नो गाउँघर फर्की आउँदा गौँडो बथानेर बस्नेहरुको सिकार बन्थे । बर्ष, दुईबर्ष विदेशी भूमिमा पसिना चुहाएर ल्याएको नगद, धनमाल लुटेराले लैजान्थ्यो । आक्रमण गरेर घाइतेसमेत बनाउँथे वा अवस्था हेरी हत्यासम्म पनि गर्थे ।
तर अहिले समय बदलिएको छ । शिक्षा, चेतनाको विकास भएको छ । मान्छेहरु सभ्य भएका छन् । शिष्ट भएका छन् । व्यक्तित्वको विकास भइरहेको छ । त्यसैले चाडपर्वका बेला यसअघिजस्तो गाउँ–गाउँ, टोल–टोल लड्भिड(ग्याङ फाइट) गर्ने क्रम करिब–करिब अन्त्य भएको छ ।
शिक्षा र चेतनाको विकासका कारण अहिले गौँडो बथानेर बस्ने, लाहुरेमाथि हाइज्याक गर्ने, पाकेट मार्ने, घर फुटाउने जस्ता घटना धेरै हदसम्म कम भएको छ । तमसुकमा अंक थपेर गरिब गुरुवाको ढाड सेक्ने जस्ता अमानवीय कुकृत्य पनि धेरै नै कम भएको छ ।
समाज दूधले नुहाए जस्तो त किन हुन्थ्यो र ? अपराध अवश्यै हुन्छ, रुप मात्र फेरिएको हो । अचेल इलेक्ट्रोनिक माध्यमबाट अपराध हुने गर्छन् । वैंकको सफ्टवेयर, पासवर्ड ह्याक गरी रकम लुट्ने क्रम सुरु भएको छ । अब नपढेका लठैतहरुबाट भन्दा पढेलेखेका, सूचना प्रविधिमा बढि जान्नेहरुसंग जोगिने चुनौति छ । त्यसका लागि धेरै जान्ने सुन्ने हुनु जरुरी छ । बिगतमाझैँ झैझगडा र बिगतको मोडलको लुटपाट समयअनुसार मोडालिटी बदलिएसंगै त्यसबाट जोगिनका लागि पनि प्रविधिमा चनाखो हुनु जरुरी छ ।




