| आइतवार, कार्तिक २२, २०८३

हिमचुलीको गत आवको नाफा ३३ लाख

गोरखा नगरपालिका–७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष ३३ लाख मुनाफा कमाएको छ । शनिवार भएको संस्थाको ३१ औं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष रामचन्द्र आचार्यले सो कुरा जानकारी गराएका हुन् ।

त्यस्तै संस्थाले गत आव ३२ करोड ६५ लाख ३३ हजार कारोवार गरेको उनले जानकारी दिए । उनका अनुसार संस्थाको कुल बचत २३ करोड ४९ लाख रहेको छ । ऋण लगानी २४ करोड ३ लाख रहेको बताइएको छ । संस्थामा हाल २ हजार ४ सय ९१ जना सदस्य रहेको संस्थाका व्यवस्थापक प्रेम श्रेष्ठले बताए ।

संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोइरालाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोनपा वडा नम्वर ७ का अध्यक्ष बिष्णु श्रेष्ठ, वडा नम्वर ३ का अध्यक्ष चुल बहादुर कुँवर, संस्थाका कानूनी सल्लाहकार यादवप्रसाद शर्मा, गोरखा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तीर्थ बहादुर नेपाली, महिला उपाध्यक्ष ज्ञानु अधिकारीले लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका सचिव सहदेवप्रसाद श्रेष्ठ, कोषाध्यक्ष रामचन्द्र आचार्य र लेखा सुपरिवेक्षण समिति संयोजक नारायणबाबु श्रेष्ठले बार्षिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्