
विश्व दृष्टि दिवसको अवसरमा चालक र सहचालकको आँखा परिक्षण
विश्व दृष्टि दिवसको अवसरमा बिहीवार सार्वजनिक सवारी चालक र सहचालकको आँखा परिक्षण गरिएको छ ।
गोरखा दरौदी यातायात सेवा कम्पनीको समन्वयमा गोरखा लायन्स आँखा सेवा केन्द्रले कम्पनीमा आवद्ध ७६ जना चालक र सहचालकको आँखा परिक्षण गरेको हो ।
आवश्यकताका आधारमा औषधी समेत वितरण गरिएको केन्द्रका प्रशासकिय अधिकृत बिश्व प्रकाश अर्यालले बताए । उनका अनुसार नेत्र सहायक खुमप्रसाद पराजुलीको टिमले आँखाको चेकजाँच गरेका थिए ।
कार्यक्रममा दरौदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले आगामी दिनमा केन्द्रसँग थप समन्वय र सहकार्य गर्दै जिल्लाका अन्य ठाउँमा पनि आँखा जाँच कार्यक्रम संचालन गर्ने बताए । कार्यक्रममा बोल्दै लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्केले आँखालाई नियमित चेकजाँच गर्नुपर्ने र आँखालाइ सधै माया गर्नुपर्ने बताए ।




