
बजार अनुगमन प्रभावकारी र उपलब्धीमूलक होओस्
केही दिन अघि चाडवाड लक्षित बजार अनुगमन भयो । यसपटकको नयाँ थालनी भनेको जिल्लाका सबै स्थानीय तहमा एकैसाथ अनुगमन गरियो । अनुगमन हुनु आफैमा राम्रो कुरा हो । तर अनगुमनका लागी मात्र अनुगमन भयो भने त्यो अर्थहिन हुन्छ ।
त्यसैले अनुगमनसँगै कारवाहीलाई पनि सँगसँगै अघि बढाउन सके अनुगमन अर्थपूर्ण बन्छ । जव चाडवाड आउँछ अनि बजार अराजक बन्दै जान्छ । महँगी चुलिन्छ । दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्छ । अनुमानित बजेटले किनमेल धान्दैन । बजार क्षेत्रमा मात्र होइन यातायात क्षेत्रमा पनि बेथिति देखिन्छ । भाडामा यातायात व्यवसायिको मनमानी । लागत भन्दा दोव्वर भाडा । यो त चाडवाडको पहिचान नै बनिसक्यो । यस्ता बेथिति नियन्त्रणमा प्रशासन र सम्बन्धित निकायकै भूमिका अहम हुन्छ ।
बजार महँगी आकासिएको छ । समय अनुसार महँगी बढ्नु स्वभाविक पनि हो । तर बिचौलियाको हालिमुहालीका कारण त्यो अस्वभाविक बन्न पुग्छ । कृषि देखि यातायात सबै क्षेत्रमा बिचौलिया हावी हुँदा महँगीको मारमा सर्वसाधारणहरु परिरहेका छन् । यसपटकको चाडवाडमा पनि जिल्लावासीले बिगतामा जस्तै समस्या भोग्नु नपर्ला भन्न सकिन्न ।
यो अवस्था आउन नदिन स्थानीय तह र बिशेष गरी प्रशासनको उपस्थिती बजारमा देखिनुपर्छ । औपचारिकता पुरा गर्नका लागी मात्र बजार अनुगमन गरेजस्तो गर्ने प्रवृतिको अन्त्य हुनु जरुरी छ । किनभने बिगतदेखि दोहोरिदै आएको यस्तै प्रवृतिका कारण बजार थप अराजक बन्दै गएको हो भन्नेमा दुइ मत छैन ।
प्रशासनको बजार उपस्थिती जति न्यून हुन्छ त्यति नै कालोबजारीले स्थान पाउँछ । बजार अराजक बन्छ र बिचौलिया हावी हुदै जान्छन् । त्यसैले बजारमा देखिएको अराजकता र वेथिति अन्त्यका लागी अनुगमनले निरन्तरतासँगै अनियममितता गर्नेलाई कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ ।




