
फुटपाथ व्यवस्थापनमा नगरपालिकाको बेलैमा ध्यान जाओस्
फुटपाथ व्यवस्थापनका नारा नगरवासीले धेरै पहिले देखि सुन्दै आएका छन् । तर त्यसका लागी न कुनै ठोस् योजना बनेको छ न त कार्यान्वयन नै भएको छ । अव्यवस्थित फुटपाथको बिकराल समस्यालाई हल गर्न नगरपालिका चुक्दै आएको छ । चर्का नारा र भाषणमा मात्र सिमित हुदै आएको फुटपाथ व्यवस्थापनको मुद्दा स्वयम नगरपालिकाकै लागी चुनौतीको बिषय बनेको छ । फुटपाथ मिच्ने प्रवृतिको अन्त्य गरी व्यवस्थित गर्न नगरपालिकाको पहल कदमी आवश्यक छ ।
फुटपाथ मिचेर संरचना बनाउनेदेखि फुटपाथलाइ व्यापारिक थलोको रुपमा प्रयोग गर्नेहरुको बजार क्षेत्रमा कमी छैन । पैदलयात्रुको सहजताका लागी निर्माण भएको फुटपाथ व्यापारिक थलो र निर्माण सामाग्री थुपार्ने स्थान बनिरहेको छ । कतिपय स्थानमा फुटपाथ नै छैनन् भने भएका ठाउँको पनि व्यवस्थित नुहदाँ पैदलयात्रुले सकस भोग्नुपरेको छ । फुटपाथमा हुनुपर्ने पैदलयात्रीहरु सडकमा आउन बाध्य हुन्छन् । यसले दुर्घटना जोखिम पनि बढाएकै छ । कतिपय स्थानमा फुटपाथ नै पार्किङ स्थल बनेको छ ।
फुटपाथ व्यवस्थापनका लागी नगरपालिकाबाट केही प्रयास पक्कै भएको होला । तर असफल बनेका ती प्रयासहरु अर्थहिन छन् । फुटपाथलाई व्यापारिक थलो बनाउने, अतिक्रमण गर्ने र निर्माण सामग्री थुपार्नेहरुलाई कारवाही गर्न पनि नगरपालिकाले सकिरहेको छैन । यसबाट पनि उनीहरुले प्रश्रय पाइरहेका छन् । आवश्यक अनुगमन र निरिक्षण गर्न समेत नगरपालिकाले सकिरहेको छैन । यसरी नगरपालिका मौन रहने र अतिक्रमण गर्नेहरुको मनोमानी बढ्दै जाने हो भने फुटपाथ सबै ब्यापारीहरुको कब्जामा हुनेछ ।
व्यवस्थित फुटपाथका लागी योजनामात्र होइन त्यसको कार्यान्वयन कार्यलाई पनि अघि बढाउनुपर्छ । निरन्तर अनुगमन सँगै फुटपाथ मिच्नेलाई कारवाही गर्न पनि हिम्मत राख्नुपर्छ । होइने भने फुटपाथ अतिक्रमण बढ्ने र नगरपालिकालाइ फुटपाथ व्यवस्थापन टाउको दुखाइको बिषय बन्ने छ । बेलैमा नगरपालिकाको यसतर्फ ध्यान केन्द्रित होस् ।




