| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखावासीलाई ‘बोर्डर पास’ वितरण शुरु

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) वितरण शुरु भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवास स्थित इलाका प्रशासन कार्यालयबाट बुधवार पास वितरण कार्य थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

पास वितरणका लागी सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमवार नै सिर्दिवास पुगेको थियो । नासु बिश्व रोका मगर र कम्प्यूटर अपरेटर सिता गुरुङ टोलीमा समावेश छन् । पहिलो दिन २० जनालाई पास वितरण गरिएको सहायक प्रजिअ रानाले बताए ।

उनका अनुसार वडा नम्वर ३ बाहेकका अन्य नागरिकलाई पास वितरण गरिने छ ।
उक्त पासको म्याद एक बर्षको हुने उनको भनाइ छ । ‘हामीले बितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि फेरी रिन्यू गर्नुपर्ने हुन्छ,’ उनले भने ।

यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उनले बताए । नेपाल भरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उदेश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने उनले जानकारी दिए ।
गृहमन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै पास छपाइ गरिएको हो ।

बिगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् । पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए ।

गृहमन्त्रालयले निर्देशन पश्चात पास वितरण कार्य थालिएको प्रशासनले जनाएको छ । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दाले मात्र पास पाउने पालिकाले जनाएको छ । नागरिकता भएको व्यक्तिलाई मात्र पास उपलब्ध गराइने बताइएको छ । पास पाएपछि स्थानीय खुशी छन् ।

उत्तरी गोरखाका स्थानीयको मुख्य व्यापारिक केन्द्र तिब्बत मानिन्छ । खाद्यान्न देखि आवश्यक सबै उपभोग्य वस्तु उनीहरु तिव्वतबाट ल्याउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्