
सरकारी गाडीको दुरुपयोग नियन्त्रण गर
सार्वजनिक बिदाका दिन चलाएको भन्दै शनिवार जिल्लाका केही सरकारी नम्वर प्लेटका सवारी नियन्त्रणमा परे । तीमध्ये केही पास लिएर संचालन भएका थिए भने केही विना पासका । विना पास संचालन भएका सवारीलाई कारवाही स्वरुप जरिवाना गरेर छाडिएको छ । गाडीको दुरुपयोग गर्दै विना पास बिदाका दिन सरकारी गाडीको दुरुपयोग गर्ने क्रम जिल्लामा बढ्दो देखिन्छ । बिदाका दिन पनि सरकारी गाडीहरुको सडकमा बाक्लै उपस्थिती हुनुले प्रशासनको निगरानी र उपस्थितीलाई कमजोर बनाएको छ । प्रशासनको निगरानीमा कडाइ गर्न नसक्दा गाडीको दुरुपयोग हुने क्रम बढेको हो भन्दा फरक नपर्ला । यसलाई नियन्त्रण गर्नु जरुरी छ ।
सार्वजनिक बिदाका दिन प्रशासनको अनुमति विना सरकारी सवारी संचालन गर्न पाइदैन । चाहे त्यो सरकारी कार्यालय होस् वा स्थानीय तह मातहतको सवारी । तर नियमको धज्जी उडाउँदै बिदाका दिन खुलेआम सरकारी नम्वर प्लेटका सवारीहरु जिल्लामा हुइकिरहेका हुन्छन् । बिशेष गरी स्थानीय तहका सवारीहरुमा यो वेथिति बढी छ । स्वायत्त सरकार भन्दै प्रशासनलाई समेत अटेर गर्ने प्रवृति हावी हुदै गएको देखिन्छ । यसमा प्रशासनले अंकुश लगाउन सक्नुपर्छ । नियम कानूनभन्दा माथि कोही हुदैन ।
हुन त बिदाका दिन चल्ने सबै सरकारी गाडी दुरुपयोग भएको भन्न मिल्दैन । केही सवारीहरु पास लिएर काम बिशेषले हिडेका पनि हुन्छन् । तर अधिकांश सवारी भने घुमफिर र आफन्त भेटघाटमा प्रयोग भएको देखिन्छ । त्यति मात्र होइन विवाह ब्रतवन्ध जस्ता कार्यमा सहभागी हुन पनि सरकारी गाडीको दुरुपयोग भएका उदाहरणहरु जिल्लामा ताजै छन् । कतिपय सरकारी सवारीलाई हाकिम वा जनप्रतिनिधीको आफन्त र इष्टमित्र पु¥याउन पनि भ्याइ नभ्याइ हुन्छ । यात्रुवहाक सवारी हो वा सरकारी छुट्याउनै मुश्किल हुन्छ ।
यस्तो गलत प्रवृतिको अन्त्यका लागी प्रशासनको निगरानी अति आवश्यक छ । नियमन गर्ने निकायले नै खुट्टा कमाउने हो भने वेथिती बढ्दो हुन्छ । राज्यको सम्पत्तिको दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन । होइन भने कानूनी कारवाहीको भागेदार हुनुपर्छ । सरकारी गाडीको दुरुपयोग नियन्त्रणका लागी निगरानी र चेकजाँचलाई प्रशासनले व्यापक बनाउनुपर्छ ।




