
लास काट्नेलाई पक्राउ गर्न गएका प्रहरी दोस्रो पटक पनि रित्तै फर्किए
दरौँदी ः धार्चे ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ । पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै फर्किएको त्यहाँका गाउँकार्यपालिका सदस्य आशबहादुर घलेले जानकारी दिए । गाउँलेले आरोपीहरुलाई पठाउन कडा रुपमा प्रतिवाद गरेपछि प्रहरी रित्तै फर्किएका उनले बताए । ‘बिहान नौ बजेतिर प्रहरीको थप टोली गाउँमा आइपुगेका थिए । गाउँलेहरु पनि ४०÷५० जना भेला भएका थिए’ गाउँ कार्यपालिका सदस्य घलेले भने, ‘उजुरी दिनेलाई गाउँमै बोलाएर छलफल गर्छौं । हामी कदापि जाँदैनौं भनेर गाउँलेले एक स्वरले भनेपछि प्रहरी फर्किए ।’ आफ्नो कुरा गाउँमै राख्ने, जिल्लामा नजाने, यस बारेमा जनप्रतिनिधि, प्रहरी कसैले भनेको पनि नमान्ने गाउँलेको अडान रहेको उनले बताए । गाउँकी एक महिला बोक्सी लागेर स्थानीय भीम गुरुङको मृत्यू भएको र मृतकको शरीरभित्र छेपारो, सर्प, भ्यागुता रहेको प्रमाणित गर्न भन्दै गत साउन ११ गते मृतकको शव चिरिएको थियो । सो घटनाको नेतृत्व गरेको भन्दै बोक्सीको आरोप खेपेकी काली गुरुङका दुई छोरीहरु सोममाया र राममाया गुरुङले प्रहरीमा रोशन गुरुङविरुद्ध किटानी उजुरी गरेका थिए । आरोपी रोशन गुरुङलाई पक्राउ गर्न शनिबार गएको प्रहरीमाथि गाउँका उच्छृङ्खल समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका थिए । साथै बोक्सीको आरोप खेपेकी काली गुरुङ, उनकी छोरी मिना गुरुङ र दिदीमाथि पनि गाउलेले आक्रमण गरेका थिए । घटना छट्याउन गएका गाउँकार्य पालिकाका सदस्य आशबहादुर घले र अर्का सदस्य कान्ते गुरुङमाथि पनि गाउँलेले आक्रमण गरेका थिए । कसैलाई बोक्सी आरोप पनि नलगाएको गाउँलेको दाबी छ । ‘मृतक भीम गुरुङले मर्ने बेलामा मेरो शरीरभित्र सर्प, भ्यागुता, छेपारो हिडेजस्तो गर्छ । के रहेछ, मरेपछि काटेर हेर है भनेकाले उनको अन्तिम इच्छा पूरा गर्न शव काटेको हो । बोक्सी लागेर मरेको आरोपमा काटेको होइन भन्ने गाउँलेको भनाइ छ’ घलेले भने, ‘तर बढाइचढाइ गरेर उजुरी दिएको भन्दै गाउँले रिसाएका हुन् ।’ गाउँलेलाई फँसाउन बढाइचढाइ गरेर उजुरी गरिएको गाउँलेको भनाइ छ । प्रहरीले गाउँमा समझदारीको वातावरण बनाएर फर्किएको जिल्ला प्रहरी प्रमुख एसपी बिमल बस्नेतले बताए । ‘प्रहरीमाथि गरिएको दुव्र्यबहारप्रति उनीहरुले क्षमा याचना गरे । बाँकी बिषयमा वडाअध्यक्षको रोहबरमा छलफल गर्ने समझदारी बनाएर प्रहरी फर्किएको हो’ एसपी बस्नेतले भने । तर गाउँमा बस्न सक्ने वातावरण नरहेको उजुरी दिन सदरमुकाम आएका पीडित राममाया र सोममाया गुरुङको भनाइ छ । ‘हामीलाई बोक्सी भनेर बारम्बार आरोप लगाइरहन्छन्’ गुरुङ दिदी बहिनीले भने, ‘लास काट्नु भन्दा केही समयअघि पनि हामीमाथि बोक्सीको आरोप लगाएपछि हामीले उजुरी दिएका थियौं । गाउँमा पनि मिल्न सकेन, मान्बु प्रहरी चौकीमा पनि मिल्न नसकेर जिल्ला प्रहरी कार्यालयमा आएर मिलापत्र गरेर फर्किएका थियौं । गएपछि फेरि आरोप लगाउन थालिहाले ।’ गाउँलेले एक्ल्याएर आफूहरुमाथि अन्याय गरेको पीडित गुरुङ दिदी बहिनीको गुनासो छ । बोक्सीको आरोप र आक्रमण खेपेकी काली गुरुङ र मीना गुरुङले पनि आइतबार गाउँ छोडेका छन् । उपचार गर्न भन्दै उनीहरु शनिबार बेलुका गाउँबाट झरेको र आइतबार बीच बाटो सम्म आइपुगेको छोरीहरुले बताए का छन् । ‘कपालमा समातेर रिङाएर ढुङ्गामा पछारेका रहेछन्’ आफन्त सोममायाले भनिन्, ‘टाउको दुख्यो भनिरहनु भएको छ । त्यसैले उपचार गर्न आउनु भएको छ ।’




