| सोमवार, कार्तिक २३, २०८३

भीमसेनथापा गाउँपालिका सुकुम्बासीलाई निस्सा बाँड्न सफल

भीमसेनथापा गाउँपालिकाले पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको छ । लामो कसरत गरेपछि पालिकाले घरजग्गा नभएका तथा लालपूर्जा नभएको ठाउँमा बसोबास गरेकाहरुको समस्या समाधान गर्ने पहल कदमी लिएको छ ।

संविधान दिवस जस्तो पवित्र दिनको अवसर पारेर पालिकाले वुधवार एक कार्यक्रम आयोजना गरी निस्सा वितरणको कार्य सुरु गरेको हो । राष्ट्रिय भूमि आयोग गोरखाका अध्यक्ष कमला नहर्की, सदस्य विपिनचन्द्र ढकाल र पालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले संयुक्त रुपमा उनीहरुलाई निस्सा वितरण गरेका हुन् ।

उनीहरुले सो पालिकाभित्रका ७३ जनालाई निस्सा वितरण गरेका हुन् । ११ जना भूमिहीन दलित, १४ जना भूमिहीन सुकुम्वासी र ४८ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको हो ।

यससम्बन्धी काम गर्नेगरी सबै पालिकाहरुमा शाखाहरु सञ्चालनमा छन् । तर कैयौं पालिकाहरु अहिलेसम्म यो चरणमा पुग्न सकेका छैनन् । अथवा उनीहरुले यस बिषयलाई प्राथमिकतामा नराखेका पनि हुनसक्छन् । तर भीमसेनथापा गाउँपालिकाले प्राथमिकताका साथ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई प्राथमिकतामा राखी अहिले यो निस्सा बाँड्ने चरण पूरा गरेको छ । त्यसका लागि यो पालिका धन्यवादको पात्र छ ।

२०७८ सालबाट यो प्रक्रिया सुरु भएको हो । दुईबर्ष लगाएर सो पालिकाले बुधबार पहिलो चरणको निस्सा वितरण कार्य सम्पन्न गरेको हो । अव छिटै नै जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया सुरु गर्ने सो पालिकाको योजना छ ।
त्यसका लागि छिट्टै भूमि आयोग गोरखासहित नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा गएर नाँपजाँच गर्ने र जग्गा वितरण गर्नका लागि प्रक्रिया अघि बढाउने पालिकाको योजना छ । सो क्रममा उनीहरु बसेको ठाउँमा जग्गा खोजी गरिने र त्यहाँ नपाएको खण्डमा सार्वजनिक जग्गाको खोजी गरिने छ ।

प्रतिक्रिया दिनुहोस्