
गोरखामा मिटरब्याज पिडित नौजनाको समस्या समाधान
मिटरव्याज पिडितहरुको समस्या समाधान गर्न गठित जिल्लास्तरीय मिटरब्याज पीडित समन्वय तथा सहजीकरण समितिले नौ जनाको समस्या समाधान गरेको छ । न्यायको माग गर्दै समितिमा निवेदन दिएका १५ जनामध्य हालसम्म नौजनाको समस्या समाधान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘ऋण लिएबापत जग्गा राजिनामा पास गरेर साहुलाई दिएका दुईजना पिडितहरुले जग्गा फिर्ता पाएका छन् । दृष्टिबन्धक राखेका दुईजनाको लालपूर्जा पनि फिर्ता गराइएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले भने, ‘बाँकी चारजनाले सहुलियत व्याजदरमा रकम फिर्ता गर्ने समझदारीमा मिलापत्र गराइएको छ ।’ बाँकी पिडितहरुमध्य एकजना सम्पर्कमा रहेका छैनन् भने दुईजनाले मिलापत्र गर्न समय माग गरेका उनले बताए ।
गत बैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै प्रशासनले मिटरव्याज पीडितलाई निवदेन पेश गर्न आग्रह गरेको थियो ।
पन्ध्र दिनको समयसीमा राखेको प्रशासनले बैशाख २८ गते अर्को सूचना जारी गर्दै सात दिनको म्याद थप गरेको छ ।
देशभर मिटरव्याज पिडितहरुको समस्याबारे समाचार प्रकाशन, प्रशारण भएपछि उनीहरुको समस्या बुझेर सरकारले अनुचित लेनदेन(मिटर ब्याज)सम्बन्धी समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगलाई सहजीकण गर्न जिल्लास्तरीय मीटरब्याज पीडित समन्वय तथा सहजीकरण समिति गठन गरेको थियो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा जिल्ला प्रहरी प्रमुख, जिल्ला न्यायाधिवक्ता, मालपोत कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख र वैंकर्सहरुको तर्फबाट एकजना सदस्य रहेका थिए ।
समितिले मिटरव्याजको अबस्था, पिडितहरुको प्रकृति आदि विविध पक्षमा अध्ययन अनुसन्धान गरेको थियो । पिडितहरुले व्याजदर घटाउनुपर्ने, ऋण मिनाहा गर्नुपर्ने जस्ता माग राखेका थिए । ऋण दिएका साहुहरुले आफूहरुलाई मानसिक तनाव दिँदै आएको उनीहरुको गुनासो छ ।




