
पालिकाहरुको आफ्नै प्रशासकीय भवन बनोस्
यसअघि आफ्नै प्रशासकीय भवन नभएका गोरखाका प्राय पालिकाहरुले प्रशासकीय भवन निर्माण गरेर कार्य सम्पादन सुरु गरिसकेका छन् । यसअघि नै आफ्नै प्रशासकीय भवन भएका गोरखा नगरपालिकाजस्ता पालिकाहरुले पुरानै भवनबाट काम सञ्चालन गरिरहेका छन् ।
पालुङटार, बारपाक सुलीकोट, सहिद लखन, अजीरकोट नगर तथा गाउँपालिकाहरुले नयाँ संरचना बनाएर काम गरिरहेका छन् । भीमसेन थापा, आरुघाट, गण्डकी गाउँपालिकाहरुले यसअघि नै निर्माण भएका सरकारी भवनबाट काम चलाइरहेका छन् । धार्चे र चुमनुब्री पालिकाले भाडामा लिएको भवनमा कार्यालय सञ्चालन गरेका छन् । सिरानचोक र धार्चेको प्रशासकीय भवन निर्माणको चरणमा छ । स्थान अभावका कारण चुमनुब्रीको प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढेको छैन ।
सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिकाले पनि कार्यालय सञ्चालन त गरेका छन्, तर यी दुवै पालिकाको अबस्था उस्तैउस्तै छ । विवादका वावजुद पनि सिरानचोक गाउँपालिकाले विस्तारित प्रशासनिक भवन निर्माण गरिरहेको छ । तर सर्वोच्चको स्टे अर्डरका कारण बिगत एकबर्षदेखि भुक्तानी प्रक्रिया रोकिएको छ । गण्डकी गाउँपालिकाको पनि अबस्था उस्तै छ ।
प्रशासकीय भवन निर्माणका लागि पालिकाले टेण्डर आव्हान गरेको छ, तर सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेको छ । जसले गर्दा प्रक्रिया अघि बढ्न पाएको छैन ।
यी दुवै पालिकाको समस्या उस्तै हो । पालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवादका कारण भवन निर्माण हुन नसकेको हो । एउटा पार्टीले अघि बढाएको प्रस्ताब असफल गराउन अर्को पार्टी खुलेर लाग्छ । जसले गर्दा गाउँपालिकाको प्रशासकीय भवन निर्माण अनिश्चित भएको छ ।
केही उता वा केही यताले खासै ठूलो तात्विक अर्थ राख्दैन, तर जुँगाको लडाइँका कारण यो अबस्था सिर्जना भएको हो । यस्ता जुँगाको लडाइ छाडेर अब सबै पालिकाको आफ्नै प्रशासकीय भवन बनुन् ।




