| सोमवार, कार्तिक २३, २०८३

रातोप्लेटका गाडीले भाडाका यात्रु नबोकुन्

‘रातो नंबरप्लेटका गाडीले भाडाका यात्रु बोक्छन्’ भन्ने लामो समयदेखि सुन्दै आएको समस्या हो । कसैले थाहा नपाउने गरी ‘अन कल’ यस्तो सेवा दिनु अनौपचारिक रुपमा स्वभाविक हुनसक्ला, तर खुलेआम, सडकको छेउमा लामवद्ध भई रातो नंबरप्लेटका जीपले भाडाका यात्रु ओसार्ने काम राज्यले अवलम्बन गरेको नीति, नियम विपरीत हो ।

नीति नियम विपरीत हो, तर खुलेआम चलिरहनु ऐन, कानूनको परिपालना गराउनेहरुका लागि चुनौति हो । कि कसैले गुनासो नगरे अन्देखा गरेपनि सुख पाइन्थ्यो । जसले भाडाका यात्रु ओसारपोसार गर्ने प्रयोजनका लागि भनेर कालो नंबरप्लेट राखी आफ्नो गाडी दर्ता गरेका छन्, प्रचलित नियम, कानून अनुसार कर तिरेका छन्, उनीहरुले गुनासो गरिसकेका छन् ।

गुनासो मात्र होइन, त्यस्ता गाडी छेक्ने भनेर सडकमा उत्रिसकेका छन् । अब त यो बिषय हेर्ने आधिकारिक निकाय तात्नु प¥यो । अब अन्देखा गरेर सुख छैन, किनभने रातो नंबरप्लेटको गाडीले यात्रु ओसारेका कारण पिडित बन्ने पक्षले आवाज उठाइसकेको छ ।

उनीहरु सडकमा उत्रिएका कारण उत्पन्न अप्रिय परिस्थिति वा त्यसको परिणामको जवाफदेही को हुन्छ ? त्यसैले जिम्मेवार निकाय अथवा ट्राफिक प्रहरीले यस मुद्दालाई घनिभूत रुपमा अवलोकन गरी नियम, कानूनको परिपालना गर्नु अपरिहार्य छ । तनाब सिर्जना भइसकेपछि साम्य पार्नुभन्दा तनाबै उत्पन्न हुन नदिने वुद्धिमानी हो ।

अहिले ट्राफिक प्रहरी सदरमुकाममा मात्र छैन । ग्रामीण सडकमा पनि ट्राफिक प्रहरीको गस्ती हुन्छ । उनीहरुले रातो नंबरप्लेटका गाडीले व्यवसायिक रुपमा यात्रु ओसारिरहेको देखिरहेका हुन्छन्, अन्देखा गरिरहेका हुन्छ । अब कडाइका साथ त्यो अनाधिकृत काम हुन दिनु हुदैन ।

प्रतिक्रिया दिनुहोस्