
गोरखाको अस्पतालको वार्षिक समीक्षा : एकबर्षमा ८२ हजारभन्दा धेरै बिरामीको उपचार
आर्थिक वर्ष २०७९÷०८० मा गोरखा अस्पतालबाट ८२ हजार भन्दा बढीले सेवा लिएका छन् । शुक्रवार बार्षिक समिक्षा कार्यक्रममा मेडिकल सुपरीटेण्डेण्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पतालको तथ्याङ्क प्रस्तुत गर्दै बिगत बर्षमा ३४ हजार १ सय ९९ जना पुरुष र ४८ हजार २ सय ८८ जना महिलाको उपचार गरिएको बताएका हुन् ।
जसमध्ये ७१ हजार ५ सय ९ जनाले ओपिडी सेवा, १० हजार ९७८ जनाले आकस्मिक सेवा र २ हजार ४ सय ६३ जनाले अन्तरंग सेवा लिएको डाक्टर श्रेष्ठले बताए । उनका अनुसार गत आर्थिकबर्षमा २ हजार ४० जनाले फिजियोथेरापी सेवा लिएका छन् ।
अघिल्लो वर्षको तुलनामा गतवर्ष अस्पतालमा भर्ना हुने बिरामीको दर ४६ प्रतिशतले बढेको अस्पतालले जनाएको छ ।
त्यस्तै प्रसुती सेवा लिनेको संख्या पनि ५० प्रतिशतले बढेको श्रेष्ठले जानकारी दिए । ‘शल्यक्रिया सेवा लिनेको संख्या पनि बर्षेनी बढेको छ,’ उनले भने, ‘गत आर्थिक बर्षमा मात्रै ९ सय १२ जनाले शल्यक्रिया सेवा लिएका छन् ।’ बिरामी रिफर संख्या पनि घटाइएको बताउँदै उनले थपे, ‘आर्थिक वर्ष २०७८÷७९ मा ९ शय २६ जनालाई रिफर गरिएकोमा गत आव यो संख्या घटेर ७ सय ५५ मा झरेका छौँ ।’ रिफर हुनेमा बढी मुटु, मृगौला, क्यान्सर, न्युरो लगायतको शल्यक्रिया सेवा लिनुपर्ने बिरामी रहेको उनले बताए ।
गत आर्थिक वर्षमा अस्पतालका लागि संघ तर्फबाट सर्शत तर्फ तीन करोड ४४ लाख रकम प्राप्त भएको थियो । उक्त रकममध्ये दुई करोड २१ लाख मात्र खर्च भएको अस्पतालले जनाएको छ । त्यस्तै प्रदेश समानीकरण अन्तरगत कुल ८ करोड २३ लाख ५५ हजार प्राप्त भएकोमा ६ करोड ३४ लाख ३७ हजार खर्च भएको बताइएको छ ।
अस्पतालका अनुसार अस्पताल व्यवस्थापन समितितर्फ प्राप्त भएको १० करोड १० लाखमध्ये ८ करोड ५२ लाख खर्च भएको छ । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै श्रेष्ठले प्रदेशले गरेको अस्पतालको न्यूनतम सेवा मापदण्डको परिक्षणको नवौं चरणको मूल्याङ्कनमा गोरखा अस्पतालले ९३ प्रतिशत अंक प्राप्त गरेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै उनले सेवासुविधा विस्तारका लागि अस्पताललाई एक सय शैयामा विस्तार गर्नुपर्ने, आइसियू कक्ष ब्यवस्थित गर्नुपर्ने, इन्डोस्कोपी र इको मेसिन खरीद, एमआरआई, सिटि स्क्यान सेवा पनि उपलब्ध गराउनुपर्ने बताएका थिए ।
कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले केही महिनाभित्र अस्पतालको पार्किङलाई ब्यवस्थित गरिने र अस्पतालमा दुई वटा प्रवेशद्वारमा गेट निर्माण हुने जानकारी गराए । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको व्यवहारप्रति सेवाग्राहीको गुनासो आएको बताउँदै उनले त्यसमा सुधार गर्न आग्रह समेत गरे । वार्षिक समिक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पतालमा आउने विरामीहरुको भिड व्यवस्थापनसँगै अस्पतालकर्मीले बिरामी र कुरुवालाई गर्ने व्यवहारमा सुधार गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यमप्रसाद शर्मा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति यदुविलाश भट्टराई, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तव्य राखेका थिए ।




