| सोमवार, कार्तिक २३, २०८३

गुनासो गर्ने माध्यम समयसापेक्ष सहज हुँदै

समय प्रविधिमैत्री बन्दै गएको छ । कुनैबेला गुनासो गर्नका लागि कार्यालयको भित्तामा गुनासो पेटिका राखिन्थ्यो । मनमा कुनै कार्यालयको बग्रेल्ती गुनासो भए पनि गुनासोपत्र लेखेर कार्यालयसम्म पुग्न नसक्नेहरु वा सरासर कार्यालयको पेटिकामा गएर पत्र खसाल्न असहज मान्नेहरु अब घरभित्र, कोठामा बसीबसी गुनासो गर्न पाउने भएका छन् ।

त्यसका लागि गोरखामा सबैभन्दा पहिले जिल्ला प्रशासन कार्यालयले विद्युतीय गुनासो पेटिका (डिजिटल गुनासो पेटिका)को व्यवस्था गरेको छ ।
२० औं निजामति सेवा दिवसको अवसर पारेर सो कार्यालयले शुक्रवारबाट विद्युतीय गुनासो पेटिकाको सुरुवात गरेको हो । अब सो कार्यालयले सार्वजनिक सेवा प्रवाहका बारेमा जो कसैलाई गुनासो भए क्यूआरकोडमार्फत गुनासो गर्न सकिने प्रवन्ध गरेको छ । क्यू आर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरी विद्युतीय गुनासो पेटिकाको ब्यवस्था गरिएको हो ।

सो क्यूआरकोड कार्यालयको वेवसाईट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको छ । सो क्यूआरकोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने छ । उक्त पेटिका सहितका सामाजिक सञ्जाल र टेलिफोनबाट प्राप्त हुने गुनासोको दैनिक रुपमा सम्बोधन गरिने छ । सो गुनासो पेटिकामा आउने गुनासो तथा सुझावहरु सिधै प्रमुख जिल्ला अधिकारीको पहुँचमा मात्र रहने र उजुरीकर्ता वा गुनासोकर्ताको गोपनियताको हकलाई पूर्ण संरक्षण गरिने प्रशासन कार्यालयले जनाएको छ ।

सेवालाई प्रभावकारी, नागरिकमैत्री, छिटोछरितो र गुनासोरहित बनाउन, सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज बनाउने अभिप्रायले विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरेको हो । सूचना प्रविधीको विकाससँगै ई–गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउन कार्यालयले प्रविधिमैत्री गुनासो पेटिकाको व्यवस्था गरेको हो ।

गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालय वा जिल्लाका अन्य सरकारी तथा अर्ध सरकारी निकायहरुबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्