
विद्यालय बन्दको लहर रोकौँ
जब श्रीमानलाई विदेश जाने भिसा लाग्छ, तब उनकी श्रीमतीलाई बजार जाने भिसा लाग्छ । अथवा श्रीमान स्वदेशै भए पनि जब बच्चा तीनबर्ष, चार बर्ष हुन्छ, तब बच्चा पढाउने नाउँमा महिलालाई बजार जाने भिसा लाग्छ ।
बजारका बासिन्दा पनि छोराछोरी पढाउने बहानामा त्यो भन्दा ठूलो सहर छिर्दैछन् । १२ कक्षा पास आउट भएपछि उनीहरु विदेशतिर हानिँदैछन् । ठूलो सहरका बासिन्दा पनि विदेशतिर सर्दैछन् ।
यसरी बसाइँ सर्ने र गाउँ रित्तिने क्रम अहिले दिन दुगुना, रात चौगुना बढिरहेको छ । अहिले त झन् गाउँमात्र होइन, सहर पनि रित्तिदैछ । समग्रमा देश युवाविहिन हुदैछ ।
यो अबस्था केवल काल्पनिक होइन । यो अबस्था कसैमाथिको आरोप पनि होइन । सबैको आँखाअघि जगजाहेर कुरा हो ।
यसले सबैलाई चिन्तित बनाइरहेको छ । तर जो जसलाई चिन्तित बनाएको किन नहोस् उनीहरुका सन्तान पनि उनीहरुले रोकेर, छेकेर रोकिने, छेकिनेवाला छैनन् । त्यसैले गाउँबस्ती रित्तिने बिकराल अबस्था अनियन्त्रित रुपमा बढ्दैछ ।
अहिले जुन गाउँमा हेरे पनि जनसंख्या घट्दैछ । जुन विद्यालयमा हेरे पनि विद्यार्थी संख्या घट्दैछ । यो अबस्थाले धेरै विद्यालय बन्द भइसकेका, भइरहेका छन् ।
गोरखा नगरपालिका ८ आमडाँडाको सूर्योदय प्रावि त एउटा प्रतिनिधि विद्यालय मात्र हो । अझै सूर्योदय प्रावि बन्द हुनुको कारण त बसाइँ सराइ पनि होइन । आमडाँडा, कट्टेलडाँडाको गाउँबस्ती गुल्जार छ । तर त्यहाँका बालबालिकाको रोजाइमा सो विद्यालय पर्न नसकेको मात्र हो ।
सुविधाको खोजी, अस्पतालको सहजता आदि कारणभन्दा सहरमा बसाइँ सर्नुको प्रमुख कारण बालबच्चालाई गुणस्तरीय शिक्षाको खोजीमै हो । त्यसैले अबको चुनौति भनेको सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर उकास्नु नै हो । यसले धेरैलाई गाउँबस्तीमै रहने वातावरण बनाउँछ ।




