| सोमवार, कार्तिक २३, २०८३

नेपाली र अमेरिकी सेनाबीच भदौ २४ गतेबाट संयुक्त सैन्य अभ्यास हुँदै

नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास हुने भएको छ। उक्त सैन्य अभ्यास भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा हुनेछ।

नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली भदौ २१ गते काठमाडौं आइपुग्नेछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुनेछ।

तालिममा सहभागी हुन अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाहरू नेपाल आउँदैछन्। सैन्य अभ्यासमा नेपालीका सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाको तर्फबाट १२ जना सहभागी हुनेछन्।

नेपाली सेनाले बेलायत, भारत, चीन, श्रीलंका, मंगोलिया, बंगलादेश, इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। चिनियाँ जनमुक्ति सेनासँगको सैन्य अभ्यास भने अहिले हुन सकेको छैन। कोरोना भाइरसका कारण रोकिएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको तयारी भइरहे पनि दुवै पक्षले मिति तय गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्