| सोमवार, कार्तिक २३, २०८३

अचम्मका चोरहरु, खम्बाका ट्रान्सफर्मर पनि असुरक्षित

पहिले पाकेट मार्ने, गौडो बथानेर लाहुरे, कलकत्तेहरु लुट्ने, खोरबाट खसीबोका, कुखुराका चल्ला, काँक्रो चोर्ने चोरहरुको बिगबिगी थियो । एक दसकअघि मात्र ताङ्लिचोकमा गोठका राँगा, भैँसी, गाई, गोरु चोरेर जंगलमा लगी कलेजो, फोक्सो, भित्रि मासु चोरेर खाने चोरको बिगबिगी थियो ।

समय बदलिएसंगै यस्ता चोरहरु अहिले देखिँदैनन् । अचेल बरु वैंकको सफ्टवेयर ह्याक गरेर चोरी गर्ने, ओटिपी तथा सेक्युरिटी कोड पत्ता लगाएर खाताको पैसा चोर्ने प्रचलन बढिरहेको छ ।

पैसा मात्र नयाँ प्रविधिले चोर्ने होइन, चोरहरु युग अनुसार नयाँ(नयाँ सामग्री चोरी गर्न थालेका छन् ।
केहीदिनअघि भीमसेनथापा गाउँपालिका ३ र ४ मा तीनथान विद्युतको टूान्सफर्मर चोरी भयो । सामुदायिक विद्युतीकरण अन्तर्गत अरुणोदय ग्रामीण विद्युत सहकारीको स्वामित्वमा रहेको एकसय केभिए क्षमताका एउटा, मेहनती ग्रामीण विद्युत सहकारी संस्थाको एकसय केभीए क्षमताको र भीमसेनथापा ७ का वडाअध्यक्ष नारायण श्रेष्ठको निजी स्वामित्वको २५ केभीए टूान्सफर्मर चोरी भएको हो ।

अरुणोदय र मेहनतीको टूान्सफर्मर यही भदौ १२ गते र १३ गते चोरी भएको हो भने श्रेष्ठको टूान्सफर्मर त्यो भन्दा अघि चोरी भएको हो । चोरी गर्नेहरुको केही सबुत प्रहरीले घटनास्थलबाट बरामद गरेको छ । त्यसका आधारमा मान्छेको करिब करिब पहिचान भइसकेको छ । पक्राउ गर्न भने सकेको छैन ।

ताङ्लिचोकको चोरले गाई, गोरु, भैँसी, राँगोको कलेजो, फोक्सो, भित्रि मासु चोरे झैँ, धावा, तान्द्राङको चोरले पनि टूान्सफर्मरभित्र रहेको तामाको तार, तामाको पाता चोरेर बाहिरि ‘कभर’ छाड्ने गरेको छ ।

हालका प्रहरी आईजिपी वसन्त कुँबर त्यतिबेला गोरखाका प्रहरी इञ्चार्ज भएर आएपछि ताङ्लिचोकको गाईगोरु, भैंसीराँगोको भित्रि मासु चोर्ने चोर पत्ता लगाई कारबाही गरेका थिए । अब अहिले पनि ट्रान्समिटरको भित्रि अंगहरु चोर्ने चोर पत्ता लगाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्