| सोमवार, कार्तिक २३, २०८३

होटल संघ र पर्यटन विकासको अन्तरसम्बन्ध

धेरै सम्भावनाहरु भएर पनि गोरखामा पर्यटन विकास हुन सकेन भन्ने सबैको मनमा बिझ्ने कुरा हो । विश्वको सन्दर्भमा त भन्न नमिल्ला, नेपालको सन्दर्भमा गोरखा पर्यटनका हिसाबले धेरै महत्वपूर्ण जिल्ला हो, किनकि सिँगो नेपाल निर्माणको इतिहास गोरखाको गर्भमा छ ।

सागरको पिँधको मोतीलाई जमिनमा ल्याएर चम्काए झैँ, गोरखाको गर्भमा निहित नेपाल निर्माणको इतिहासलाई चम्काउन सके यहाँ पर्यटक आउने दर पक्कै बढ्ने छ ।

प्राकृतिक सौन्दर्यका दृष्टिले गोरखा सरदर जिल्ला हो । यहाँको खास निधि भनेको इतिहास हो । त्यसलाई गर्भबाट उधिनेर निकाल्नु तथा त्यसलाई चमकदार बनाउन सक्नुपर्छ ।

यो जिम्मा पर्यटन व्यवसायीहरुको काँधमा छ । पर्यटन व्यवसायी अथवा यसको महत्वपूर्ण पक्ष होटल व्यवसायी, उनीहरुले गोरखाको विभिन्न ठाउँको विकासका लागि परिकल्पना गर्ने, योजना बनाउने, नक्शांकन गर्ने, पूर्वाधार निर्माणको एजेण्डा लिएर स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार तथा विदेशी दातृ संस्थासम्म धाउने हिम्मत गर्नुपर्छ । यति भयो भने, गोरखाको पर्यटन उत्खननका लागि कहीँ, कतैबाट केही न केही प्रभावकारी कार्य आरम्भ हुने छ । गोरखाको पर्यटन विकासका लागि नियमित आयस्रोत बन्नेथियो ।

जिल्लामा पर्यटक कसरी भित्र्याउने र पर्यटकलाई जिल्लामा कसरी लामो समय रहन सक्ने वातावरण बनाउने ? यस सवालको जवाफ होटल ब्यवसायीले तयार गर्नुपर्छ । होटल संघले उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, नगरपालिका, पुरातत्व विभाग, प्रदेशको पर्यटन विभाग, संघको पर्यटन विभागसम्म पहुँच पु¥याएर योजना तथा कार्यक्रम माग गर्नुपर्छ ।
पर्यटक र होटल व्यवसाय बीच नङ र मासुको सम्बन्ध छ । त्यसैले यी दुवैलाई प्रभावकारी ढंगले अघि बढ्न होटल संघले अग्रसरता लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्