| सोमवार, कार्तिक २३, २०८३

पहिले स्कूल खोल्ने होड, अहिले बन्द गर्ने

नेपालमा बिक्रम संवत १९१० मा पहिलोपल्ट भानु मावि(हाल दरबार मावि) विद्यालय खुलेको थियो । प्राय राजपरिबार तथा राणा परिबारले मात्र पढ्ने गरी सो विद्यालय खुलेको थियो । तर बझाङी राजा जयपृथ्वीबहादुर सिँहले सर्वसाधारण नागरिकका छोराछोरीले पनि शिक्षा, दीक्षा पाउनु पर्छ भनेर अभियान सञ्चालन गरेपछि विस्तारै देशका विभिन्न ठाउँमा पनि विद्यालय खुल्न थालेको इतिहास छ ।

इतिहास यथावत राखुँ । जब २०४६ सालमा प्रजातन्त्र पुनर्वहाली भयो, त्यसपछि जहाँतहीँ विद्यालय खोल्ने होड लागेको हो । त्यतिबेला प्राथमिक तहका शिक्षा आर्जन गर्न पनि एकघण्टाका पैदल बाटो हिड्नु पर्ने अबस्था थियो । तर धमाधम विद्यालय खुलाउन सरकारले अनुमति दिन थालेपछि टोलटोलमा विद्यालय खुले ।

त्यतिबेलाको परिवेशका लागि यो पनि ठिकै थियो, किनभने त्यतिबेलासम्म गाउँ छाड्ने वातावरण थिएन । अर्थात गाउँ गुल्जार हुन्थ्यो, भरिभराउ हुन्थ्यो । टोलटोलमा विद्यालय खुलाए पनि बालबालिका भरिभराउ हुन्थे ।

जव खाडी मुलुक, कोरिया तथा विभिन्न मुलुकमा वैदेशिक रोजगारी खुल्यो, सक्नेहरु वैदेशिक रोजगारीमा जान थाले । क्रमशः वैदेशिक रोजगारीमा जाने लहर यतिसम्म चल्यो, गाउँहरु युवाविहिन हुन थाले । अहिले त जब श्रीमानलाई विदेश जाने भिसा लाग्छ, उनकी श्रीमतीलाई सन्तान पढाउने निहुँमा बजारको भिसा लागिहाल्छ । यसले गर्दा गाउँमा न युवा, युवती, न बालबालिका हुन थाल्यो ।

यसको दुश्प्रभावस्वरुप त्यतिबेला खुलेका स्कूलहरु धमाधम बन्द हुन थालेका छन् । गाउँको विद्यालय बन्द हुँदा सहर जान नसकेर गाउँमै बचेखुचेका ससाना बालबालिकालाई फेरि धेरै टाढाको बाटो हिडेर पढ्न जानु पर्ने भएको छ । छँदाखाँदाको विद्यालय बन्द हुँदा कार्यरत शिक्षक पनि यता न उता हुने अबस्था सिर्जना भएको छ । यसले गाउँठाउँमा तनाबको अबस्था सिर्जना भएको छ ।

यो अबस्था यो वा त्यो ठाउँ होइन, जहाँतहीँ भएको छ । यसका बिषयमा विशेषगरी जनप्रतिनिधि, दलका नेता, सामाजिक अगुवा, विद्वतवर्गहरुले गम्भीर रुपमा सोच्नु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्