| मङ्लबार, कार्तिक २४, २०८३

रेडक्रसको असहयोगका कारण रक्तसंचार केन्द्रमा रगत अभाव !

गोरखा रक्तसंचार सेवा केन्द्रलाई रेडक्रस कार्यालयले नै असहयोग गर्ने गरेको पाइएको छ । कार्यालयले आवश्यक सहयोग, समन्वय र सहकार्य नगर्दा केही महिनायता रगत अभाव हुन थालेको केन्द्रले जनाएको छ ।

बिशेष गरी रेडक्रस कार्यालयका प्रमुख सुवास घिमिरेबाट असहयोग भएको केन्द्रका संयोजक निधिप्रसाद तिमिल्सिनाले बताए ।

‘रक्तदान कार्यक्रम आयोजना गर्नका लागि भनेर बिभिन्न संघसंस्थाहरु रेडक्रसको कार्यालयमा जानुहुुँदो रहेछ,’ तिमिल्सिनाले भने, ‘तर घिमिरेले अहिले रगत आवश्यक छैन, राख्ने ठाउँ पनि छैन भनेर फर्काइदिनु हुँदोरहेछ ।’ रक्तदान कार्यक्रम नहुँदा केही महिनायता केन्द्रमा रगत अभाव हुदै गएको उनले बताए । उनका अनुसार केही समयअघि लियो क्लब अफ गोरखाले आफ्नो बार्षिक उत्सवको अवसर पारेर गर्न खोजेको रक्तदान कार्यक्रम पनि घिमिरेकै कारण स्थगित भएको थियो ।

‘लियो क्लबका भाइहरुले ब्लड डोनेसन कार्यक्रम गर्छाैँ भन्दा घिमिरेले अहिले आवश्यक छैन, राख्ने ठाउँपनि छैन भनेर फर्काइदिनुभएछ, त्यसकै भोलिपल्ट दुई पाउण्ड रगत चाहियो भनेर फोन आयो, केन्द्रमा रगत नभएर त्यही क्लबका केही भाइहरुलाई बोलाएर रगत दिन लगायौँ,’ उनले भने । घिमिरेले रक्तदान कार्यक्रम नगर्न भनेको कुरा आफूहरुलाई थाहासम्म नभएको तिमिल्सिनाले बताए ।

‘तत्काल रगत चाहिएर क्लबलाई भन्यौँ तर क्लबले रगत दिन्छु भन्दा चाहिदैन भन्नुभयो अहिले फेरि माग्नुभयो भन्दा पो हामी दंग प¥यौँ,’ उनले भने । रक्तदान गर्न चाहने संस्थालाई ‘रगत आवश्यक छैन’ भन्दै घिमिरेले केन्द्रलाई धरासायी बनाउन खोजेको उनको आरोप छ ।

केन्द्रकी कर्मचारी रुस्का केसीले पनि केही महिनायतादेखि रगत अभाव हुन थालेको बताइन् । उनका अनुसार हाल केन्द्रमा दश पाउण्ड रगत मात्र स्टक छ । ‘माग पूर्तिका लागि करिव ८० पाउण्ड रगत हामीसँग स्टक हुनुपर्छ । तर अहिले दश पाउण्ड मात्रै छ,’ उनले भनिन् । असार ५ गतेदेखि यता रक्तदान कार्यक्रम समेत नभएको उनले जानकारी दिइन् । उनका अनुसार गत माघ महिनादेखि नै केन्द्रमा रगत अभाव हुन थालेको हो ।

‘रगत कम भएकाले रगत लिन आउनेलाई मिलेसम्म हामीले दिएको रगतको सट्टामा अर्काे रगत दिनु पनि भन्ने गरेका छौँ, फेरि बिभिन्न संघसंस्थाका पदाधिकारीको फोन नम्वर पनि राखेका छौँ, आवश्यक परेको खण्डमा उहाँहरुलाई सम्पर्क गरेर रगत उपलब्ध गराउने पनि गरेका छौँ,’ केसीले भनिन् ।

रेडक्रस शाखा गोरखाका कार्यालय प्रमुख सुवास घिमिरेले केन्द्रमा रगत अभाव भए नभएकोबारे आफूलाई रिपोर्ट नआउँदा समस्या भएको बताए । धेरै रगत राख्दा खेर जाने भएकाले व्यक्तिलाई सम्पर्कमा राख्ने र आवश्यक परेको खण्डमा रगतका लागि बोलाउने गरेको उनले बताए । ‘सुरु सुरुमा हामीसँग रगत धेरै थियो, त्यो बेला डोनेशन गर्न आउनेहरुलाई पर्दैन पनि भनेको हो तर अहिले भनेको छैन,’ उनले भने ।

गत भदौ महिनाबाट संचालनमा आएको केन्द्रमा हालसम्म ४ सय ७३ पाउण्ड रगत संकलन भएको र त्यसमध्ये ४ सय ५ पाउण्ड वितरण भएको छ । केन्द्रको तथ्याङ्क अनुसार भदौ महिनामा ११, असोजमा १३, कात्तिकमा १२, मंसीरमा १६, पुषमा १७ र माघमा २९ पाउण्ड रगत वितरण भएको छ । त्यस्तै फागुन महिनामा २०, चैत्रमा ४५, बैशाखमा ५५, जेठमा ४२, असारमा ७६ र साउन महिनामा ४५ पाउण्ड रगत वितरण भएको केन्द्रले जनाएको छ । भदौ महिनाको हालसम्म २६ पाउण्ड रगत वितरण भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्