| सोमवार, कार्तिक २३, २०८३

रुइला र ङुइला नाका खुलाउन नडराइकन पहल गरौँ

मान्छेको पेट भर्ने गर्जो टार्ने सन्दर्भमा पाका पुरानाहरुको एउटा कहावत छ, ‘भगवानले खोपेको ओखल हो, घान जसरी पनि पर्छ ।’

त्यस्तै भएको छ, उत्तरी गोरखाका सीमावर्ती गाउँका बासिन्दाहरुमा । कोभिडको चर्चा चल्न थाल्ने बित्तिकै अर्थात सन् २०२० सुरु हुने वित्तिकै चिनियाँ सरकारले गोरखाको रुइला र ङुइलालगायत देशभरका सीमा नाका एकतर्फी निर्णयले बन्द ग¥यो । कोभिड समाप्त भएको पनि यत्तिका समय भइसक्यो, ती नाका अझै खुलेका छैनन् । सीमा नाका नखुल्दा सीमावर्ती गाउँका बासिन्दा समस्यामा छन् । तर खुलाउन ठोस पहल भएको छैन ।

नाकाबन्दी भएपनि सुदूर उत्तरी दुर्गम गाउँका बासिन्दाको जिन्दगी त जसोतसो चलेकै छ । हातमुख जोर्ने काम ठप्प भएको त छैन, तर धेरै कठिन तबरले चलेको छ ।

विशेषगरी चुमनुब्री गाउँपालिका वडा नं. १, २, ६ र ७ का बासिन्दा चिनियाँ बजारमा निर्भर छन् । त्यहाँ सडक सञ्जाल पुगेको छैन । सदरमुकामबाट खाद्यान्न लगायतका सामान पु¥याउन खच्चडकै भर पर्नुपर्छ । बर्खाका बेला ठाउँठाउँमा बाटो बिग्रिन्छ र आवतजावत ठप्प हुन्छ । त्यतिबेला दैनिक उपभोग्य सामग्रीलगायतका सामान ढुवानी पनि अवरुद्ध हुने गर्छ । अनि त्यहाँ जे, जति उपलब्ध छ, त्यतिबाटै दिन गुजार्नु पर्ने हुन्छ ।

हिउँदका बेला तल्लो भेगको बजारबाट खच्चडले ढुवानी गरेको सामान दुर्गम भेगमा बसोबास गर्ने बासिन्दा महंगोमा खरिद गर्न बाध्य छन् । दुर्गम भेगका बासिन्दाको आर्थिक अबस्था यसै कमजोर र जीवनयापन यसै कष्टकर छ, झन् अत्यावश्यकीय सामानमा पनि महंगोमा मूल्य तिर्नुपर्छ ।

यदि सीमा नाका खुलेको भए तिब्बती बजारमा पाइने सुपथ मूल्यको सामान आफ्नै गोठको याक, चौँरी, झोपालाई बोकाएर ल्याउँदा धेरै सस्तोमा दैनिक उपभोग्य सामानको उपभोग गर्न पाउँथे । तर अबस्था त्यस्तो छैन । चिनियाँ सरकारले एकातर्फी सीमा नाका बन्द गर्दा उत्तरी गोरखाका बासिन्दा मर्कामा छन् ।

यो अबस्था नबुझ्ने कुनै नेता, जनप्रतिनिधि, सरकार छैन । तर सीमा नाका खुलाउन खुलेर लागेको देखिएन । कुनै नाका खुलेका छन्, कुनै बन्द छन् । सबै नाका खुलाउन तनमन दिएर लागौँ । नहिच्किचाइ, नअनकनाइ, नडराइकन लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्