| सोमवार, कार्तिक २३, २०८३

बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य चाँडो आराम्भ होओस्

गोरखामा राष्ट्रिय गौरवका आयोजना दुईवटा छन्, ‘बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना’ र ‘मध्यपहाडी लोकमार्ग’ । यी दुवै आयोजनाहरुको हविगत उस्तैउस्तै हो ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसक्नुपर्ने भनेर निर्धारित समय सीमा बितेको पनि दुई बर्ष भइसक्यो, तर अहिलेसम्म शिलान्याससम्म गरिएको छैन । अर्को, मध्यपहाडीको आरुघाट ओख्ले खण्ड कालोपत्रे गर्ने काम नौ पटक म्याद थप भइसकेको छ । दशौँ पटक म्याद थपको प्रक्रियामा छ । मसानेठाँटी–ठाँटीपोखरी खण्डको हालत पनि उस्तै हो ।

बूढीगण्डकी जलविद्युत आयोजना कुन मोडलमा बनाउने भन्ने विवादमै १० बर्ष बित्यो । नेपाली लगानीमा बनाउने र कम्पनी मोडलमा बनाउने भनेर निर्णय भएको एकबर्ष बितिसक्यो, अझै स्रोत कसरी जुटाउने भनेर निश्चित गरिएको छैन ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप थिकेको संयोजकत्वमा बनेको एक समितिले पेट्रोलियम पदार्थको पूर्वाधार कर नवीकरणीय उर्जामा खर्च गर्नु जायज पनि भएकाले सो राजस्वको ५० प्रतिशत रकम बूढीगण्डकी आयोजनाका लागि सहुलियत ऋण दिनुपर्ने प्रस्ताव गरेको छ ।

बुढीगण्डकी बनाउन सरकारले सो ऋणबाहेक स्वदेशी वैंक, ठूला संस्थागत लगानीकर्ता, विभिन्न कोष तथा कम्पनीबाट ऋणको रूपमा उठाउन सक्ने प्रस्ताव पनि सो समितिको छ । त्यसका लागि कर्मचारी सञ्चष कोष, नागरिक लगानी कोष, राष्ट्रिय वीमा संस्थान, एचआइडिसिएललगायका धेरै पुँजी खेलाउने संस्थाहरु तयार छन् ।

‘भगवानले तँ आँट, म पु¥याउँछु भन्छन्’ भनिन्छ । जब मुलुकको बाग्डोर हाँक्नेलाई यो आयोजना बनाउने दृढ इच्छाशक्ति जाग्छ, तर लगानीकर्ताहरु भेटिन्छन् । त्यसैले कुनै अल्झनमा न अल्झिई बूढीगण्डकी आयोजना निर्माणको सुरुवात होओस् ।
यस आयोजनाले विजुली मात्र बल्दैन, मुलुकको अर्थतन्त्रमा कायापलट हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्