
विद्युत प्राधिकरण सर्वसाधारणको आलोचनाको पात्र नबनोस्
विद्युत प्राधिकरणको गोरखा केन्द्रमा थोरै जनशक्तिले गरेको दुख देख्दा अपजस दिन मन मान्दैन । यहाँ काम गर्ने कर्मचारीहरु कम्तीमा १५ घण्टा रातबिरात खटिन्छन् । प्राधिकरणले दिने सेवा सुविधा पनि उस्तो उल्लेखनीय छैन । तैपनि उनीहरुको खटाइ धेरै चर्को छ ।
यति देख्दादेख्दै पनि विद्युत सेवा चित्तबुझ्दो भएन भनेर आलोचना गर्दा पापको डर मान्नुपर्ने हुन्छ । तैपनि दुखका साथ भन्नुपर्छ, विद्युत सेवा राम्रो छैन । बेलाकुबेला लाइन झ्याप्प झ्याप्प गइरहन्छ । यसरी जान्छ कि, जसरी चैत, वैशाखको हावाहुरी, चट्याङका बेला गइरहन्छ ।
यसो हुनुमा कर्मचारीको खटाइ अपर्याप्त भयो भनेर अपजस दिएको होइन, यसरी खटिने कर्मचारी अपर्याप्त भयो । अत्यन्त सीमित सेवा सुविधामा थोरै जनशक्तिले गरेको दुख गोरखाका विद्युत उपभोक्ताका लागि पर्याप्त छैन ।
यसमा प्रथमतः गोरखा वितरण केन्द्रका प्रमुखले प्राधिकरणमा जनशक्ति थप गर्न गर्नुपर्ने मिहिनेतको टड्कारो खाँचो देखियो, अर्को कुरा जिल्लामा अझै काठेपोलहरु छन् । ती पोलहरु ढलिरहन्छन् । लामो प्रशारण लाइन भएकाले धेरै समस्या सामना गर्नुपर्दछ । एकठाउँमा समस्या आउँदा त्यहाँको मात्र लाइन काटेर अन्यत्र लाइन वितरण गर्ने वितरण केन्द्रको पुरानै अभ्यास हो, तर यसो गर्न पनि सबै ठाउँमा सम्भव देखिएन ।
अहिले अधिकांश मान्छे(व्यवसायी, सेवाग्राही)हरु, सरकारी, गैरसरकारी कार्यालयको काम पनि विद्युतीय सेवामा निर्भर छन् । विद्युतीय कारोबारमा निर्भरता दिनानुदिन बढिरहेको छ । तर बेलाकुबेला लाइन झ्याप्प झ्याप्प जाँदा कम्प्यूटर लगायतका विद्युतीय उपकरणहरु बिग्रने चुनौति छ । त्यस्तै सेवा लिन दुरदराजबाट सदरमुकाम आएकाहरु यसै समस्यामा हुने नै भए ।
त्यसैले वितरण केन्द्रले जनशक्ति थप गरेर सेवा थप गर्नुपर्ने देखिन्छ, जसले गर्दा प्राधिकरण सर्बसाधारण उपभोक्ताको आलोचनाको पात्र बन्नु नपरोस् ।




