| मङ्लबार, कार्तिक २४, २०८३

सिर्दिबास, जगतमा छाला सम्बन्धी रोगको समस्या

गोरखाको चुमनुब्री गाउँपालिका ३ जगतमा छालासम्बन्धी रोगका कारण स्थानीयहरु बिरामी पर्न थालेका छन् । स्थानीय बालबालिका र ठूला व्यक्तिहरुको शरीरमा सा–साना रातो खटिरा जस्तो देखिने रोगले सताएको स्थानीय विशाल घलेले बताए । ठूला व्यक्तिलाई भन्दा बालबालिकाहरुमा यो रोग बढि देखिएको उनले बताए ।

उनका अनुसार जगतका १५÷२० जनामा यो समस्या रहेको छ । यो रोग लागेपछि शरीर चिलाउने, कमिलाले टोके जस्तो चिरचिर हुने उनको भनाइ छ ।

आफुलाई पनि यो रोग लागेको र अहिले स्वास्थ्य चौकीबाट ल्याएको औषधी लगाइरहेको उनले बताए । औषधी प्रयोग गरेपछि अहिले केही कम भएको पनि उनले बताए ।

सिर्दिबास स्वास्थ्य चौकीमा छाला सम्बन्धी समस्या लिएर दैनिक २÷४ जना विरामी आउने गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रेम गुरुङले बताए । स्वास्थ्य चौकीमा आउने विरामीहरुको छाला चिलाउने र फोका उठेको भन्ने कुरा आएको जानकारी पाएको बताउँदै उनले छाला सम्बन्धी एलर्जी रोग भएको हुन सक्ने बताए ।

यसका लागि सम्बन्धित डाक्टरहरुसँग समन्वय भइरहेको र आतिनुपर्ने अवस्था भने नभएको उनले बताए ।
सो रोग नियन्त्रणका लागि सम्बन्धित डाक्टरहरुसँग छलफल भइरहेको उनले बताए । सरसफाइ कमी हुनु, गर्मी बढ्नु लगायतका कारण छालामा यो रोग देखिएको हुन सक्ने उनले बताए । हालसम्म कति जनामा यो रोग देखिएको भनेर पालिकासँग यकिन तथ्यांक नभएको स्वास्थ्य संयोजक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्