
सबैतिरका अवैध होर्डिङबोर्ड व्यवस्थित गरौँ
पृथ्वीराजमार्गको यात्रा जोकोहीको नजर मनकामना केवलकारतर्फ पर्छ । नेपालको पहिलो केवलकार भएकाले यसको प्रख्याति अरुको भन्दा बढि हुनु स्वभाविक हो । फेरि माता मनकामनातर्फ नजर लगाउनु पनि स्वभाविकै हो ।
विज्ञापनदाताहरुले सबैले हेर्ने क्षेत्रतर्फ प्रचार सामग्री राख्न चाहनु पनि स्वभाविकै छ ।
तर वन क्षेत्र फँडानी गरी बडेबडेमाको प्रचार सामग्री राख्नु वैध भएन । वन क्षेत्रमा संरचना बनाउन साह्रै मुस्किल हुन्छ । धेरै अधिकार पाएको निकाय भनेर चिनिने स्थानीय पालिकाहरु पनि वन क्षेत्रमा सडक, भवन लगायतका संरचना बनाउन हच्किन्छन् ।
तर विज्ञापन एजेन्सीहरुले बलमिच्याइँ गरेर वन क्षेत्रमा निजी व्यापारिक प्रतिष्ठानको प्रचार सामग्री राख्नु त यसै पनि क्षम्य हुने कुरै भएन । त्यसैले वन डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय र गाउँपालिकासंग समन्वय गरी मनकामना केवलकारको दृश्य पारेर शिखर सामुदायिक वन क्षेत्रमा राखिएका होर्डिङबोर्ड हटाउन ताकेता गरिरह्यो ।
यसअघि पनि आग्रह नभएको होइन, तर अटेरी गरिरहेका थिए । किनभने त्यतिबेला सामुदायिक वन उपभोक्ता समितिले साथ दिएको थियो, तर यसपटक सामुदायिक वन उपभोक्ता समितिले पनि ती होर्डिङबोर्ड हटाउन सचेत गराइसकेको छ । अन्ततः ढिलो वा छिटो ती होर्डिङबोर्ड हट्ने भए ।
यस्ता प्रचार सामग्री शिखर सामुदायिक वन क्षेत्रमा मात्र होइन, अन्यत्र पनि छन् । आँबुखैरेनै गोरखा सडकको दायाँबायाँ सार्वजनिक स्थलहरुमा यस्ता सामग्री प्रसस्त छन् । गोरखा नगरपालिकाले राजस्व लिएर सार्वजनिक स्थलमा विज्ञापन सामग्री राख्न दिनुपर्ने व्यवस्था छ, तर नगरपालिकाले त्यता ध्यान दिएको जस्तो देखिएको छैन ।
स्थानीय सरकारले धेरै भन्दा धेरै राजस्व असुल गरेमा आफ्नो पालिका सम्पन्न हुनेछ र पालिकाले निर्णय गरी खर्च गर्न पाउने छ । तर कुनै पनि शीर्षकमा राजस्व संकलनतिर पालिकाको ध्यान कम गएको छ । घरभाडा कर संकलनमा पनि नगरपालिका सफल देखिएको छैन । होर्डिङबोर्ड व्यवस्थित गरेर राजस्व असुल गर्न पनि नगरपालिकाले चासो दिनुपर्छ ।




