
जोखिम वस्ती स्थानान्तरणको काम द्रुत गतिमा अघि बढाउ
पहिरोको जोखिममा परेका जिल्लाका धेरै वस्तीहरु स्थानान्तरणको पर्खाइमा छन् । कतिपय स्थानीय ज्यान धरापमा राखेर जोखिमयुक्त वस्तीमै बसिरहेका छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । जोखिमयुक्त वस्ती स्थानान्तरणमा भएको ढिलाईको प्रत्यक्ष असर उनीहरुमाथि छ । जोखिम मोलेर सोही वस्तीमै दिनरात कटाउनुको बिकल्प उनीहरुसँग छैन ।
२०७२ सालको भूकम्पका कारण जमिनका धाजाहरु फाटेसँगै धेरै वस्तीहरु पहिरो जोखिममा परे । भूकम्प पश्चात जोखिम वस्ती स्थानान्तरणका कुराहरु आए । कति योजना पनि बने । तर ती योजना कार्यान्वयनमा अहिलेसम्म आउन सकेको छैन । केही वस्ती स्थानान्तरणका लागी थोरै भएपनि प्रयास भएको थियो तर अहिले वस्ती स्थानान्तरणको कुरा ओझेलमा परेको छ ।
जिल्लामा बर्षेनी पहिरोका कारण जनधनको क्षति भएकै छ । कतिपय घर पहिरोले बगाएर घरवार बिहीन बनेका पनि छन् । जोखिममा रहेका केही वस्ती कुन बेला पहिरोले बगाउने हो थाहा छैन । आफै सुरक्षित नभएको घरमा सुरक्षा अनुभूती गर्दै बस्नुपर्ने स्थानीयलाई बाध्यता छ । तर सरकारले अझै तदरुपताका साथ वस्ती स्थानान्तरणको काम अघि बढाउन सकेको छैन ।
हुन त वस्ती पहिरो जोखिममा छ भन्ने एकीन हुदाहुदै पनि वस्ती छाड्न नमान्नु स्थानीयको मुर्खता हो । जुनसुकै बेला पहिरोले घरमात्र होइन परिवारको ज्यान समेत लिनसक्छ भन्ने जान्दाजान्दै उनीहरु सोही वस्तीमा बस्नु उचित होइन । तर अन्यत्र वासस्थान नहुनु उनीहरुको त्यो बाध्यतालाई पनि बुझिदिनुपर्छ । त्यसैले सरकारले जतिसक्दो चाडो जोखिम वस्तीहरुको सुरक्षित स्थानान्तरण गर्न सक्नुपर्दछ । होइन भने भविष्यमा ठुलै जनधनको क्षति हुने गरी विपदको सामाना गर्नुपर्ने हुन्छ ।




