| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालमा संचालित ओसिएमसीमा सेवा लिनेको संख्या बढ्दो

प्रतिक्षा आले मगर :

गोरखा अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र(ओसिएमसी) बाट गत आर्थिक बर्ष ३१ जनाले स्वस्थ्य सेवा लिएका छन् । जिल्लाभरका लैंगिक हिंसाबाट प्रभावित महिला तथा बालबालिका लक्षित उक्त कार्यक्रम अन्तर्गत उनीहरुले सेवा लिएको अस्पतालकी व्यवस्थापक लिपिसा श्रेष्ठले बताइन् ।

उनका अनुसार बिशेष गरी लैंगिक हिंसाबाट पिडित किशोरीहरुले यहाँबाट सेवा लिएका छन् । घरेलु हिंसा, यौन दुव्र्यवहार लगायतका हिंसाबाट पीडित महिला तथा किशोरीहरुलाई बहुपक्षीय संयोजनद्वारा सेवा दिएको अस्पतालले जनाएको छ ।
सो सेवाका लागि अस्पतालले एक विशेषज्ञ डाक्टर र एक नर्स नियुक्त गरेको अस्पताल व्यबस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए ।

‘हिंसा पिडित महिलाहरुलाई गोप्य रुपमा सेवा दिइन्छ’, उनले भने, ‘सेवा लिने बिरामीहरुको सामाजिक सुरक्षा, समुदायमा पुनस्र्थापना लगायतका विषयलाई प्राथमिकतामा राखेर सेवा दिने गरेका छौँ ।’ उनका अनुसार ओसिएमसीका लागि अस्पतालले छुटै कक्षा संचालन गरेको छ ।

लैंगिक हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यलयको समन्वयमा आवश्यक सुरक्षाको व्यवस्था मिलाई सो सेवा दिँदै आएको उनले बताए । घरेलु हिंसा, लैंगिक हिँसा, यौन हिंसा बढ्न थालेपछि गोरखा अस्पतालले २०७४ साल चैत १ गतेबाट ओसिएमसी सेवा सुरु गरेको जनाएको छ ।

सेवा प्रभावकारी रुपमा अघि बढेको अस्पतालको भनाइ छ । पीडितहरुलाई मनोसामाजिक परामर्श दिइन्छ । उनीहरुको आवश्यक चिकित्साजन्य प्रमाण संकलन र संरक्षण गरी परिवार र समुदायमा पुनस्र्थापना गर्न सहयोग गरिने अस्पतालले जनाएको छ । पीडितलाई अस्पतालमै अल्पकालीन आश्रय दिइन्छ ।

व्यबस्थापन समितिका अध्यक्ष श्रेष्ठका अनुसार बिरामीलाई लामो समय राख्नु पर्ने या फेरि समाजमा पुनस्र्थापना गर्न नसकिने अवस्थामा अस्पताल नजिकै सेफहोम (सुरक्षित आवास) को व्यवस्था पनि मिलाइएको छ । तर अहिलेसम्म सेफहोममा कसैलाई पनि राख्नु नपरेको उनले बताए ।
राख्नु परेमा त्यस्ता बिरामीहरुलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप प्रदान गरी सामाजिक पुनर्मिलन गराईने बताईएको छ ।

केन्द्रबाट स्वास्थ्य सेवा लिनेको संख्यामा बृद्धि हुदै गएको अस्पतालकी कार्यकारी निर्देशक श्रेष्ठले बताइन् । उनका अनुसार गत आव ३१ जनाले उक्त सेवा लिएका छन् । कानुनी व्यवस्थामा सुधार आएसँगै हिंसामा परेका महिला तथा बालबालिकाको आत्मबल बढेको उनको भनाइ छ । उनका अनुसार केन्द्र संचालनमा आएको ५ वर्षमा झन्डै १ सय ५९ जनाले सेवा लिइसकेका छन् ।

अस्पतालले त्यस्ता बिरामीहरुलाई मनोसामाजिक परार्मश दिई जीविकोपार्जनमा सहयोग पुग्ने सिप प्रदान गर्ने र सामाजिक पुनर्मिलन गर्न सहयोग गर्ने बताइएको छ । सन् २०१० मा नेपाल सरकारबाट स्वीकृत राष्ट्रिय कार्ययोजनामा उल्लेख गरिएको उद्देश्यको बुँदा नं ३ अनुसार लैंगिक हिंसालाई प्रभावकारी र कुशलतापूर्वक सम्बोधन गर्नका लागि तोकिएको ९४ वटा स्वास्थ्य संस्थाबाट यी केन्द्रहरु स्थापना गरिएको छ ।

संचालनमा रहेका सबै एकद्वार संकट व्यवस्थापन केन्दको संचालन तथा व्यवस्थापनमा एकरुपता ल्याउन कार्यक्रम संचालन मार्गदर्शन जारी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्