| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा आँखा पाक्ने बिरामीको संख्या ३३ सय भन्दा धेरै, कन्ट्य्राक ट्रेसिङ र आइसोलेशन र गर्ने तयारी

साउन ३१ गतेको तथ्यांक अनुसार गोरखाका ३३ सयजनाभन्दा धेरैमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । जनस्वास्थ्य कार्यालय गोरखाले तयार पारेको तथ्यांकअनुसार हालसम्म ३३ सय ८१ जनामा आँखा पाक्ने रोगको संक्रमण देखिएको हो ।

११ वटै पालिकाको स्वास्थ्य शाखा तथा सदरमुकामका आँखा उपचारकेन्द्र, गोरखा अस्पताल लगायतका स्वास्थ्य संस्थाबाट सो तथ्यांक संकलन गरिएको हो । निजी अस्पताल, क्लिनिक, मेडिकलमा उपचार गराउनेको संख्या भने यहाँ समेटिएको छैन ।

‘सरकारी निकाय र लायन्स आँखा उपचार केन्द्रबाट मात्र संकलन गरिएको तथ्यांक हो’, स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्याल भन्छन्, ‘निजी अस्पताल, क्लिनिक, मेडिकलहरुमा उपचार गराउनेहरु त कत्ति छन्, कत्ति । उनीहरुको संख्या यहाँ जोडिएको छैन ।’

कार्यालयका अनुसार गोरखा लायन्स आँखा अस्पतालमा हालसम्म १३ सय ९४ जना, गोरखा नगरपालिकामा तीन सय १७ जना, पालुङटार नगरपालिकामा ८ सय ५० जना र भीमसेनथापा गाउँपालिकामा एक सय ५ जनामा आँखा पोक्ने रोगको संक्रमण देखिएको छ ।

सहिदलखन गाउँपालिकामा १५ जना, अजिरकोट गाउँपालिकामा २६ जना, गण्डकी गाउँपालिकामा एक सय २४ जना, बारपाक सुलिकोट गाउँपालिकामा एक सय ५४ जना र सिरानचोक गाउँपालिकामा तीन सय १० जनामा यो रोगको संक्रमण देखिएको जनाएको छ ।

यस्तै, आरुघाट गाउँपालिकामा २६ जना, धार्चे गाउँपालिकामा ४१ जना र चुमनुब्री गाउँपालिकाका १९ जनामा आँखा पाक्ने रोग देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

यसैबीच आँखा पाक्ने रोग सजिलै सर्ने भएकाले भिडभाड हुने ठाउँहरुमा नजान र जानै परे सावधनी हुन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

आँखाको भाइरल संक्रमण व्यापक रुपमा फैलिएका बेला आँखा पाक्ने रोग नियन्त्रणका लागि सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको हो । बुधबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल अध्यक्षतामा बसेको महामारी तथा प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायहरु बीच समन्वयात्मक बैठकका आँखा पाक्ने रोगबाट बच्न बढी भिडभाड हुने क्षेत्रहरुमा सावधानी अपनाउन आग्रह गरिएको हो ।

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग सर्ने भएकाले सावधानी अपनाउन आवश्यक रहेको बताइएको छ । बुधबारको वैठकले जिल्लाका स्थानीयहरुलाई महामारी तथा प्रकोपजन्य अवस्थामा आवश्यक पर्ने औषधी तथा औषधीजन्य सामग्रीहरु खरीद गरी स्टक राख्न र अक्सिजन सिलिण्डर अक्सिजन कन्सन्टेटर तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।

वर्षायाम सँगै प्राकृतिक प्रकोपको बढ्दो अवस्थामा खानेपानीका मुहानहरु प्रदुषित भै पानीजन्य रोगहरु हैजा, झाडापखाला, टाइफाइड, आउँ, जुका लगायतको प्रकोप फैलिन सक्ने उच्च सम्भावना भएकोले पानी शुद्धिकरण गरेर मात्र उपभोग गर्न आग्रह गर्ने निर्णय गरिएको छ । स्वच्छ खानेपानी उत्पादक र वितरकले पनि उत्पादन र वितरण गरेको पानी शुद्धिकरण गरेर मात्र वितरण गर्न लेखि पठाउने निर्णय गरिएको छ ।

त्यस्तै, डेंगु रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर को अभियानलाई स्थानीय स्तरसम्म सम्पूर्ण वडाहरुमा सरकारी तथा गैरसरकारी कार्यालय मार्फत संचालन गर्न अनुरोध गर्ने र शैक्षिक संस्थाहरुमा विरामीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएमा सम्वन्धित शैक्षिक संस्थाले स्थानीय तहसँग समन्वय गरी त्यस्ता विद्यार्थीलाई आइशोलेसनमा राख्ने व्यवस्था गर्न आग्रह गर्ने वैठकले निर्णय गरिएको जनाएको छ ।

महामारी फैलिइ जनधनको क्षति हुन जाने अवस्थालाई मध्य नजर गरी स्वास्थ्य कार्यालय गोरखाले स्थानीय तहहरुसंग समन्वय गरी ¥यापिड रेस्पोन्स टिम तथा कन्ट्याक इन्भेस्टिगेशन एण्ड कन्ट्रयाक ट्रेसिङ गर्न तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्