
भण्डारीगाउँमा विवाहको बिषयमा किचलो, खुकुरी प्रहारबाट एक गम्भीर घाइते
बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारीगाउँमा विवाहको बिषयलाई लिएर भएको विवादको क्रममा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका स्थानीय ४५ बर्षिय बुद्धबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार मध्यरातमा केटीले विवाह गर्न अस्वीकार गरेपछि केटा र केटीपक्षबीच दुई पक्षबीच विवाद भएको थियो । ‘भण्डारीगाउँको २० बर्षीया केटी र सिम्भुको ३१ बर्षीय केटा बीच विवाह गर्ने भनेर केही दिनअघि दुबै पक्षका परिवार बीच सहमति भएको रहेछ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘सोमवार राती केटी लिन जाँदा केटीले अस्वीकार गरेपछि विवाद भएको रहेछ । त्यही क्रममा केटी पक्षका रामबहादुर गुरुङले खुकुरीले हान्न खोजेछन्, रोक्ने क्रममा खुकुरी लागेर बुद्धबहादुर घाइते भएछन् ।’
उनको बाँया कानभन्दा तलको भागमा चोट लागेको र हाल काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । उनको मंगलबार बेलुकी अबेरसम्म होश नखुलेको बताइएको छ ।
खुकुरी प्रहार गर्ने रामबहादुर गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




