
विद्यालय शिक्षा ऐन २०८० संशोधनको माग गर्दै शिक्षकहरुको धर्ना
५१ बर्षपछि आउन लागेको विद्यालय शिक्षा ऐनको विभिन्न वुँदाप्रति असहमति जाहेर गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरु आन्दोलित भएका छन् ।
सरकारले प्रस्ताव गरेको विद्यालय शिक्षा ऐन २०८० संशोधनको माग गर्दै जिल्लाका शिक्षकहरुले धर्ना दिएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा जिल्लामा रहेका बिभिन्न शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले मंगलवार शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा धर्ना दिएका छन् । उनीहरु करिव तीन घण्टा धर्नामा बसेका थिए ।
उक्त ऐन शिक्षक, कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको विरुद्धमा रहेको उनीहरुको दावी छ । धर्ना कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघका अध्यक्ष गोपालबाबु मरहट्टाले सरकारले जारी गरेको मस्यौदामा नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएको ३० बुदे र ५१ बुँदे सहमतिका सबै बुदाँहरु नसेमिटएको दाबी गरे । माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिएकोप्रति असन्तुष्टी जनाउदै शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघीय शिक्षा ऐन २०८०’ ल्याउन लागिएकोप्रति शिक्षक संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
२०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।
धर्ना कार्यक्रममा शिक्षक महासंघ गोरखाका अध्यक्ष मरहट्टाले शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख सुवास आचार्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बीच २०७५ साल फागुन ९ गते भएको वार्ताका सहमतिपत्र केन्द्रमा पठाइदिन भन्दै हस्तान्तरण गरेका छन् ।
धर्ना कार्यक्रममा बिभिन्न राजनीतिक दल निकट शिक्षक संघसंगठन, नेपाल विद्यालय कर्मचारी परिषद, विद्यालय कर्मचारी संगठन गोरखामा आबद्ध सामुदायिक एवं निजी विद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो ।




